प्रिय पुत्र रवि शुभाशीर्वाद । लगभग २०० वर्षअघिदेखि थलिएकी म त के ठिक छु भनुँ या वेठिक नै छु भनुँ । कहिलेकाहिँ कुनै सुपुत्रहरूको सेवाबाट केही आराम त मलाई पक्कै हुन्छ, तर केही ठिक होला भनेर आराम गर्न थाल्दा अर्को व्यथाले समातिहाल्छ । धेरै वर्षदेखि यस्तै संघर्षमा गुज्रिरहेको मेरो जीवन कहिले कता गएर स्वाहा हुने हो त्यो तिम्रा बा ब्रह्माण्डलाई नै थाहा होला ।
मेरो व्यथा जस्तो भएपनि सही नै रहेकी छु, तर मैले जन्माएका सुपुत्रहरूलाई वेला वेलामा पर्ने गरेका अप्ठ्याराहरूले गर्दा भने मलाई मेरो जिउ अत्यन्तै छाडिएर आउँछ, ज्वरो आउला जस्तो गरी शरीर तात्छ, छटपटी हुन्छ, तर के गर्ने आफैँ रुग्ण अवस्थामा भएकी मैले गर्न पो के सक्छु र ? क्षतविक्षत अवस्थामा पुगेकी मलाई आजभन्दा केही सय वर्ष पहिले पृथ्वी नामको छोरोले केही उपचार गर्न सुरु गर्यो । त्यसलाई निरन्तरता दिँदै राजेन्द्रलक्ष्मी बुहारी र छोरो बहादुर शाह लगायतका मेरा कालु पाण्डे, भीमसेन थापा आदि पुत्रहरूले पनि उपचार गरे । पुनः सुरेन्द्र आदि पुत्रहरूले ख्याल नगर्दा रोग लागेकी मलाई जङ्गबहादुर छोरोले सेवा गर्न थाल्यो । जङ्गे छोरोले मेरो सेवाको सुरुवात गरे तापनि त्यस पछिका छोराहरूले मेरो उपचारका नाममा झनै मेरा अरु सोझा छोराहरूलाई दमन गर्न लागे । त्यसको फलस्वरुप मैले त्रिभुवन नामको छोरोलाई जन्म दिनुपर्यो । सोझो छोरो त्रिभुवनले मेरो रोगको केही उपचार गरी अरु मेरा छोराहरूलाई पनि माया ममता त दियो । तर फिरङ्गीहरूको षडयन्त्रलाई बुझ्न नसकेकोले महेन्द्र नामको छोरो पनि मैले जन्माउनुपर्यो । महेन्द्रसँग मिलेर काम गरुस् भनी विश्वेश्वर नामको छोरो पनि मैले जन्माएँ । तर दुवैले मिलेर काम गर्न जानेनन् । दुवै छोराहरूलाई देशको माया त थियो तर मिलेर काम गर्न नजान्दा छोरो विश्वेश्वर मेरी कान्छी बहिनी इन्डियाकहाँ बसेरै मेरो चिन्ता गरिरह्यो । पछि कान्छी बहिनीका छोरा जवाहरको चतुर्याइँ बुझेर अरुको प्यारो हुनभन्दा त आफ्नैको हेला हुनुपर्ने रहेछ भन्दै मेरो काखमै आई मेरो चिन्ता गर्दागर्दै दैवप्रिय भयो ।
यता छोरो महेन्द्रले भने भाइहरूलाई जेलमा हालेर भएपनि सकेसम्म मेरो सेवा गरेकै हो । त्यसपछि प्रजातन्त्रका नाममा एवम् लोकतन्त्रका नाममा मेरो सेवा गर्ने पनि जन्मिएका हुन् । तर तिनले मेरो घाउका नाममा सधै राजनीति मात्र गरी आफ्नै पेटको पूजा मात्र गरे । केही मेरा प्रिय छोराहरू कहिले योगी त कहिले विद्वान् नै भएर पनि जन्मिन त जन्मिए तर उनीहरू पनि एकजुट भई काम गर्न नसक्दा मलाई केहि गर्न सकेनन् । एकजुट भएर काम गर्न नजान्दा दाइहरूले गरेको नराम्रो कामप्रति धावा बोल्दा पनि सफल हुन सकेनन् ।
यस्तै प्रसङ्गमा मैले तिमीलाई जन्म दिएँ । तर तिमी केही जान्न र सिक्नका लागि मेरी परकी बहिनी अमेरिकाकहाँ पुग्यौ । त्यहाँ केहि सिक्ने अवसर त अवस्य पायौ तर तिमीलाई उनैको मायाले उतै राख्यो । तर विस्तारै विस्तारै मेरो मायाले आतुर भएका तिमी कालान्तरमा मेरै काखमा आइपुग्यौ । यहाँ भइरहेका विसङ्गति र विकृतिहरूलाई चिर्ने प्रयास पनि गर्यौ । त्यसैको फलस्वरुप पार्टीकै रूपमा सङ्गठित भई मेरो सेवा गर्ने प्रणका साथ संसद भवनमा आई देशकै गृहमन्त्री पनि हुन पुग्यौ । यस्तो अवस्थामा यत्रा वर्ष आफ्ना भन्नेले केही नगर्दा पनि आँखामा धृतराष्ट्रको टालो लगाएका केही तिम्रा दादाहरूले तिमी सरकार मै गएकै दिन विवाह कै दिन बच्चा चाहियो भन्ने जस्तो हास्यास्पद बोलीले आफ्ना विद्वत्ताको प्रचार प्रसार नगरेका पनि होइनन् तर पनि त्यस्ता कुराले पनि तिमीलाई नछोई तिमी मेरो सेवामै लाग्दै थियौ । तर एक्कासी तिम्रो देशप्रेमलाई कागजी मुद्दा बनाएर तिमीलाई मेरो छोरो होइनौ भन्ने खालको कानुनको उपचार तिम्रा दाइहरूले गरेछन् ।
ठिकै छ तिमीहरूले नै बनाएको त्यो नियमले तिमीलाई नागरिक नमान्दैमा केही हुन्न । यहाँ तिमीहरूले बनाएको कानुनले त परापूर्वकालमा इण्डिया, भुटान, वर्मा गएका मेरा छोराछोरीहरूलाई पनि मेरा पुत्रहरू नमानी पाकिस्तान र वंगलादेशबाट आएका मेरा नातै नपर्ने परका बहिनीहरूका छोरा-छोरीहरूलाई भने मेरै छोराछोरी मानिदिएको छ । तर पनि त्यो फैसलाले तिमी कत्ति पनि विचलित नभई फेरी त्यही तिमीहरूले बनाएको कानूनको आश्रयमा नागरिकको प्रमाणपत्र लिनू र पुनः मेरो सेवा गर्न तुरुन्त हाजिर हुनू । त्यस्तै बाबु हर्के र बालेनलाई पनि जन्म दिएकी छु । उनीहरूले पनि मेरो सक्दो सेवा गरिरहेका छन् । विभिन्न पार्टीहरूमा रहेका मेरा छोराछोरीहरूले पनि मेरो सेवा न जानिँदो तरिकाले गरिरहेकै छन् । ती सबैलाई माया गरेर, सङ्गठन गर्दै मेरो सेवा गर्न पुनः तिमी संसद भवनमै आउनुपर्छ । त्यसैले तिमीहरूले नै बनाएको कानुनको सर्वोच्च स्थान सर्वोच्च अदालतबाट आएको यो फैसलालाई पूर्ण स्वीकार गरी यसपछि पुनः तुरुन्त कागजी रूपमै पनि मेरो छोरो भई मेरो सेवा गर्न आउनू ।
उही तिम्री प्यारी आमा
नेपालदेवी नेपाली