मधेशको नारामा विदेशी संस्कार
उप प्रा. श्याम खनाल ….🖋️
विशेष गरेर २०६२ पछि मधेश आन्दोलनले मधेशमा मधेशीहरूको अधिकारलाई सम्बोधन गर्यो भन्ने गरिन्छ । अर्थात् मधेशीहरूलाई पहाडीहरूले गर्ने व्यवहारमा परिवर्तन भएको छ । मधेशीहरूले पनि आफू नेपाली भएको अनुभूति गर्न पाएका छन् । आफ्नै वर्गको आफूसँगै रङ्ग मिल्ने मुख्यमन्त्री पाएको छ । बजारमा यस्तो भन्नेहरूको कमी देखिँदैन ।
तर मधेश आन्दोलनले मधेशमा बस्नेहरूका लागि अधिकार भन्दा पनि अनावश्यक विभेद ल्याएको अनुभूति अहिले आएर देशलाई अलिकति माया गर्नेहरूले अनुभूति गरिरहेका छन् । यस्तो किन भयो त भन्ने विचार गर्दा त्यहाँको आन्दोलन सही अर्थमा गरीब मधेशीहरूको अधिकारको लागि नभएर त्यहाँका गरीबमारा नेताहरूको अधिकारका लागि भएको थियो । त्यो मधेश आन्दोलन त्यतिखेर भएको थियो जतिखेर तेस्रो मुलुकबाट आएका नागरिकलाई नागरिकताको अधिकार दिइएको थियो ।
यो कुरा कसरी पनि प्रमाणित भएको छ भने त्यहाँ सदियौँदेखि मिलेर बसेका मधेशी र पहाडी समुदायमा त्यतिखेर फाटो हालेर कैयौँ पहाडीहरूलाई त्यहाँबाट लखेटिएको थियो । राज्यले कुनै पनि दिन त्यहाँ बस्ने पहाडी र मधेशीहरूमा दुई किसिमको व्यवहार गरेको थिएन । बहुदल आएपछि वा पहिले पनि कैयौँ मधेशमा बस्नेहरू सरकारी काम काजमा थिए । नेता भएर देशकै नेतृत्व लिन समेत पुगेका थिए । सदियौँदेखि बसेका नागरिकलाई नागरिकताको झन्झट नै थिएन । यस्तो हुँदाहुँदै पनि मधेशमा किन आन्दोलन मच्चाइएको थियो त ? किनकि मधेश आन्दोलन मार्फत् यहाँको मिलेको समाजमा विभेद ल्याइ फुटाउनु थियो एवम् यहाँका दुबै समाज मिलेर गर्ने गरेको हिन्दू सभ्यताको नष्ट पनि गर्नु थियो । त्यसैले नव नागरिकताधारीहरूबाट मधेश आन्दोलनलाई कन्ट्रोल गरिएको थियो । ती नव नागरिकताधारी अधिकांश क्रिश्चियन सोसाइटीसँग एवम् नेपाली सनातनी मुस्लिम नभएर बाहिरबाट आएका नामका मात्र मुस्लिम सोसाइटिसँग सम्बद्ध थिए । नेताहरूको उद्देश्यअनुरूप मधेशमा बसेका हिन्दू समुदाय जो त्यतिखेरसम्म पहाडी वा मधेशीका रुपमा विभाजित थिएनन्, तिनलाई विभाजित गराएर मधेशमा वेथितितन्त्रको विकास गराउन ती नव नागरिकताधारीहरूले ज्यान दिएर काम गरे ।
मिलेर बसेको मधेशमा टोपी जति पहाडतिर, धोँतीजति मधेशमा भन्ने समेतको नारा दिए । नेपाली भाषाप्रति नफरत फैलाए । किनकि टोपी लगाउने हिन्दू र धोँती लगाउने हिन्दूहरूबीच फाटो ल्याउनु उनीहरूको उद्देश्य थियो । एवम् संस्कृतलाई नै पिताजी मान्ने नेपाली भाषा र मैथिली भोजपुरी आदि भाषाबीच फाटो ल्याइ यहाँ अङ्ग्रेजी भाषा लाद्नु थियो । यो कुरो मधेशमा बसेका नेपालीहरूले पनि बुझ्न सकेनन् । आखिरी टोपी पनि हिन्दूकै प्रतीक थियो भने धोती पनि हिन्दूकै प्रतीक थियो । एवम् विचार विनिमयको माध्यम भाषाहरू पनि एउटै पिताजीका सन्तान थिए ।
यी नफरत फैलाउनेहरूले नारा चाहिँ धोँतीका लगाउथेँ तर उनीहरूको पहिरन चाहिँ सुटेड बुटेड हुन्थ्यो । नेपाली भाषाप्रति घृणा गर्न सिकाइन्थ्यो तर बच्चाहरूलाई चाहिँ अङ्ग्रेजी सिकाउंँथे । विकासका नाममा मधेशका कुना कुनामा पसेका विदेशी संस्थाहरू मार्फत् परिवर्तनका नाममा धर्मान्तरणको विउ रोप्ने काम भयो । वैदिक पञ्चेबाजाप्रति घृणा गर्न सिकाई बेलायती ब्यान्ड बाजालाई मौलिक बाजाका रूपमा बजाउन थालियो । दौरा सुरुवालप्रति घृणा जगाई सुट टाइ र चप्पलमा प्रस्तुत हुनुलाई मधेशीपनको गौरबको रूपमा हेरियो ।
त्यसैले अहिले भरखर सम्पन्न निर्वाचनपछि पनि मधेशप्रति माया भएको मानिस भन्दा पनि उही पुरानै नेताका नयाँ रुप आफ्नो धर्म संस्कार र संस्कृतिप्रति माया नभएका मानिस नै मधेशमा वैदिक सभ्यताका प्रतीक धोती कुर्ता वा दौरा सुरुवाल टोपी लगाएर भन्दा पनि चट्ट सुट टाइ लगाएर मधेशमा उदायका छन् । यो कुरा त्यहाँका असली मधेशीहरूले हेक्का राख्न पर्ने भएको छ । अस्तु ।