आजको सूर्यग्रहण र ज्योतिर्विद् नयराज पन्त
…………………………………………….लेखक उपप्रा श्याम खनाल
सौरमानअनुसार आज वि.सं. २०७९ साल कार्तिक ८ गते चान्द्रमानअनुसार कार्तिककृष्ण औँसी तिथिमा नेपालको स्ट्याण्डर समयअनुसार साँझ ४।५२ मा ग्रहणको स्पर्श हुँदैछ भने यो ग्रहणको मोक्ष बेलुका ५।२४ बजे सूर्यास्त भइसकेपछि मात्र हुनेछ । अर्थात् आज सूर्यभन्दा तलतिर चन्द्रमा र चन्द्रमाभन्दा तलतिर पृथ्वी पर्न आउँदा हामी पृथ्वीमा बसेका मानिसहरूले सूर्यलाई चन्द्रमाले छेकेको देख्नेछौँ । यही अवस्थालाई नै ज्यौतिषशास्त्रको भाषामा सूर्यग्रहण भनिन्छ । सूर्यको किरणबाट प्रकाशित भई उज्यालो देखिने चन्द्रमाको तलतिरको लगभग आधा भाग पृथ्वीतिर पर्न गई सूर्यबाट प्रकाशित हुन नपाउँदा कालो देखिन्छ । हामीले ग्रहणको समयमा देख्ने सूर्यलाई छेकेको कालो भाग चन्द्रमाको तलतिरको भाग हो ।
देख्ने कुरामा मात्र विश्वास गर्ने यन्त्र विज्ञान एवम् नदेखिने कुरामा पनि विश्वास गर्ने आध्यात्मिक विज्ञान दुबैले ग्रहणको बेलामा बच्ने विभिन्न उपायहरूको बारेमा उल्लेख गरेका छन् । हामीले पनि ती कुराहरूको विचार गरी भोजन स्नानादि व्यवहारको आचरण गर्दै आएका छौँ । हाम्रा पूर्खाले बाहुन्को कमाइखाने भाँडोको रूपमा मात्र शास्त्रको रचना गरेका होइनन् । उनीहरूको हजारौँ वर्षको तपस्याबाट यी कुरा उल्लेख गरेका हुन् ।
यी हाम्रा अनुसन्धानहरूलाई उही कर्मकाण्डको टपरीले मात्र ढाकिदिनु अत्यन्त अन्याय हुन जान्छ । हुन सक्छ कुनै सूर्यको भक्तले उनीहरूप्रति अत्यन्तै श्रद्धाभाव प्रकट गरी उनी हिँडिरहँदा जुत्ता फाट्ने र चर्मकारबाट किनेको जुत्ताको पैसा तिर्न नसक्दा चर्मकार (चमार) ले सूर्यलाई छेकेको भनी “छोड चमारे छोड” भनी एउटा नपढेको तर अन्त्यनै श्रद्धावान् भक्तले श्रद्धाभावले भनेको कुरालाई आधार मानी हाम्रा शास्त्रहरू नपढी शास्त्रहरू प्रति अन्टपन्ट बोल्नु पनि गलतै हुन जान्छ ।
सूर्यग्रहणको बारेमा ऋग्वेदमा पनि भएको कुरा ज्योतिर्विद् नयराज पन्तले सप्रमाण उल्लेख गर्नुभएको छ । भगवान् श्रीकृष्णको पालामा पनि सूर्यग्रहण लागेको कुरा श्रीमद्भागवत्को दशमस्कन्धको ८२ अध्यायमा उल्लेख भएको कुरा उहाँले उल्लेख गर्नुभएको छ । ब्रह्मजालसुत्तमा भगवान् बुद्धले पनि सूर्यग्रहणको चर्चा गरेको कुरा गुरुले उल्लेख गर्नुभएको छ । (पूर्णिमा १८ पूर्णाङ्क – संशोधन-मण्डल वा “नयराज पन्तका ज्यौतिषीय चिन्तन”-नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान) । सूर्यग्रहण-गणितको अति सूक्ष्म तरिकाले गणना गर्नका लागि नयराज पन्तले प्राचीन-अर्वाचीन सिद्धान्तहरूको विश्लेषण गर्दै ८८ संस्कृत श्लोकको रचना गर्नुभएको छ । उहाँले रचना गरेका यी श्लोकहरू र यिनको अर्थ माथि उल्लेखित नयराज पन्तका ज्यौतिषीय चिन्तन नामक पुस्तकमा देख्न सकिन्छ ।
वि.सं. १९७० श्रावण २६ गते पिता कृष्णदत्त र यज्ञप्रिया पन्तका कोखबाट काठमाडौँमा जन्मिई आजिवन अध्ययन/अनुसन्धानमा लागेर नेपालको इतिहास, नेपाली साहित्य र ज्यौतिष क्षेत्रमा विशेष योगदान पुर्याएका ज्यतिर्विद् नयराज पन्त चन्द्रलोक पदार्पण (विधूर्ध्वभागे पितरो वसन्तः…) गर्नुभएको पनि चान्द्रमानअनुसार आज बिस वर्ष पुरा भएको छ भने सौरमानअनुसार कार्तिक १८ गते पुग्नेछ । ज्यौतिषक्षेत्रमा भास्कराचार्यकै पर्यायका रूपमा उहाँकै पथ पहिलाउँदै अध्ययन/अनुसन्धानमा अहोरात्र खट्नुभएका नयराज पन्तको अवसानपछि ज्यौतिषक्षेत्रको अध्ययन/अनुसन्धानमा भारतवर्षमै ग्रहण लाग्न पुगेको छ । विदेशीहरूले गनिदिएका ग्रहगणितका हिसाब किताबलाई अन्ध समर्थन गर्दै आफूलाई ज्यो.पं., वास्तुविद्, त्रिकालदर्शी र कालसर्पविद् बनाएर विभिन्न संघ संगठनका अध्यक्ष हुँदैमा हामी व्यस्त रहेका छौँ ।
त्यसैले यसरी २० वर्षदेखिको ज्यौतिषशास्त्रको अध्ययन/अनुसन्धानमा लागेको ग्रहण आज सूर्यग्रहण उपरान्त छोडोस् भनी ज्यौतिषशास्त्रका प्रवर्तक उनै सूर्य भगवान्सँग प्रार्थना गर्दै ज्योतिर्विद् नयराज पन्तमा हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।