कम्युनिस्टको बुर्जुवा शिक्षा !

कम्युनिस्टको बुर्जुवा शिक्षा !

ऊ बेला कम्युनिष्टहरूले तत्क्षणको शिक्षा पद्दतिलाई एउटा उपमा गुथाएका थिए- बुर्जुवा शिक्षा । हो ठ्याक्कै त्यही उपमा वर्तमान शिक्षा प्रणालीमा पनि मेल खाएको छ भन्दा अत्युक्ति नहोला । १२ सम्म सबैलाई र नि:शुल्क भनेर बारम्बार भनी रहियो तर बसमा चावाहिल, लचावाहिल भनेर चिच्याईरहेका खलासीको उमेर र शैक्षिक योग्यता कहिल्यै सोधिएन । बालबालिका बेचबिखनको मुद्दामामलामा उस्तै तिख्खर हाम्रो समाज । त्यस्तै विद्यार्थीलाई विद्यालयले दिएको सास्ती पनि उस्तै दर्दनाक छ (जसको प्रत्यक्ष भोगी एक म पनि हूँ ।)

केवल सार्वजनिक विदा कटानी गरेर विद्यालय लगाउँदैमा हुँदैन व्यक्तित्व विकास र बन्दैन परिवार, समुदाय र राष्ट्र । देश बनाउनु छ भने पहल तत्काल गर्नुपर्छ प्रविधि युक्त नैतिक र व्यावहारिक शिक्षाका लागि । सगरमाथा चढ्नु छ भने सुरुवात फेदबाट गर्नुपर्छ, त्यही फेद हो शिक्षा । जसले निरन्तर हिड्नका लागि झक्झकाईरहन्छ ,भक्भकाईरहन्छ समृद्धिको खबरदारीमा । शिक्षक विद्यालयमा पुगेकै छन् घ्याम्पे भुँडी लगाएर दश बज्दा नबज्दै, विद्यार्थी छन् वजन झैँ गह्रौं भारी उठाउने विवशतामा , पाठ्यक्रम विकास केन्द्रले औपचारिकता अपनाएकै छ तर पनि किन जुँगा निस्कँदा ननिस्कँदै विदेश पलायन हुन मन पराउँछन् युवा वर्ग ? किन हुँदैन दक्ष जनशक्तिको विकास ? के आवश्यक परेकै हो शैक्षिक नीतिको सुधार ? कि गलहत्याई दिएको हो कार्यान्वयन गर्नलाई ?

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

यदि गर्ने नै हो भने शैक्षिक क्षेत्रको सुधार एक से एक मै उपलब्ध गराइदिन सक्छु विज्ञ र ज्ञाताहरू । अवसर र मौकाको प्रतिक्षा गर्दा गर्दै वृद्ध भ‌ई सके योजना र परियोजनका पत्र पत्र मगजमा । गर्न सक्यौँ काठमाडौँ प्रविधि युक्त ( प्रोजेक्ट वर्क) शिक्षा तर दिन सकेनौँ जुम्ला र बाजुरा जीर्ण पुस्तकका पत्र पनि । जागिर सरकारी काम निजीमा ।

राजनीतिको ओढारमा परेको शैक्षिक क्षेत्र “छक्का पञ्जा” को कथा भन्दा कमको छैन । छक्का पञ्जाकै कहानी दोहोर्‍यारहेका छन् शैक्षिक क्षेत्रकै परिवर्तन पहलको सुपन्थमा ।तगारोका बिस्कुन बिछ्याई रहेका छन् ‌एक वा दुई वर्षमा परिवर्तित पाठ्यक्रम र नमुना प्रनोत्तरको अघोषित मितिले ।सुधारमा ओझेल परेकै हो, एकै पटक फेरौँ प्रा. वि. , मा.वि. , नि. मा.वि. या अन्य तहको पाठ्यक्रम तह अनुरूप । तैयार राखौँ पहिल्यै पाठ्यभार , नमुना प्रश्नपत्र र बाजुरा , जुम्लामा किताबको पहुँच । परीक्षा भन्दा दुई महिना अघि मात्र आउने पाठ्यक्रमको खाकालाई अन्त्य गरौँ । विज्ञान र संकृत विषयका अनुसन्धाताहरू पढ्दै छन् एउटै विषयवस्तु ।अनुसन्धानमा एउटै, चिन्तनमा एउटै ।

शिवजीले त त्रिनेत्रले हेर्थे तर शिक्षाले अनेक नेत्रले हेर्छ घरी अर्थको, घरी विकासको, घरी स्वास्थ्य क्षेत्रको, घरी सामाजिक मूल्य-मान्यताको त घरी शिल्पकलाको । शिक्षाले दीक्षा छ दियो तर भिक्षा मागे झैँ कन्जुस्याइँमा । कहाँ थियो र शिक्षाको पहुँच सम्पूर्ण क्षेत्रमा ?अझै पनि त छैन साक्षर प्रदेश गण्डकीको पर्वत र म्याग्दीको सम्पूर्ण स्थानमा ।

टिडिपी र वृद्धि विकास तालिमबाट तालिम प्राप्त शिक्षकलाई थाहै छैन के हो रिपोतार्जमूलक रचना ? यसरी बढेछ मेरो देशको शिक्षाको स्तर यसैमा म गौरवान्वित छु, प्रफुल्लित छु, मखलेल छु, अल्लारकत्वभाव प्रकट गर्छु । यसरी व्याख्याकार बनिरहँदा आँखा चिम्लिन मिल्दैन बाधक तत्वका पछाडि । गरिबी, बालविवाह, अपाङ्ग, विद्यालयको दूरता, दाइजो र देउकी प्रथा छन् नि सयवटा अश्वमेध यज्ञपश्चातको विकराल इन्द्रको रूपमा शिक्षामा तगारोको महत्वपूर्ण भूमिका खेल्न । सिंहदरबार र खुमलटारको हाउभाउ सोध्नमै व्यस्त त छैनन् जातीय, लैगिङ्क तथा बाल‌अधिकार संरक्षण गर्ने संस्थाहरू ? कि बालुवाटारको बालुवामा सुन खोज्दै छन् शिक्षामा आमूल परिवर्तन ल्याउन सपथ खाएका मनहरू ?

सबैभन्दा बढी बजेट निकास भ‌एको शिक्षा क्षेत्र, सबैभन्दा कम बजेट खर्च भएको शिक्षा क्षेत्र । ठाउँ ठाउँमा पुगी सकेछ आधुनिक शिक्षा र त परम्परागत शिक्षण प्रक्रियाको प्रयोग, जातीय पेसा अँगाल्ने चलन अनि आधुनिक शिक्षाप्रति अविश्वासले पाउदैँ रहेछ स्थान । शिक्षक र सरकारी कर्मचारी बिच कत्रो विकराल भेदभाव अनि त विद्रोहको आगो बालेका होलान् शिक्षकहरूले राजनीतिको खास्टो ओढेर । आन्दोलनरत ने.वि.संघ र अनेरास्ववियुको आन्दोलनलाई जोडेर ।
विना योग्य कक्षा बढाउको प्रक्रियालाई इति श्री गरौं । श्री गणेश गरौँ ४० प्रतिशत भन्दा कम ल्याउनेलाई नितान्त अनुत्तीर्णको पगरी ।यहाँ त दि‌एको छ ४० हजार भन्दा बढी शिक्षक एसियाली विकास बैंक र डानिडाले राहत शिक्षक । जब सक्दैन देश नै देशकै मेरुदण्ड शैक्षिक क्षेत्रको शिक्षक धान्न तब आजका बालबालिका भोलिका कर्णधारको नारा घोकाइन्छ टोल टोलमा ।
समयमै परिक्षाको तिथि,मिति, रिति स्थिति, परिस्थिति, संस्कृति तोकियोस् । शिक्षक नियुक्तिमा नातावादलाई भोलिवाद भनी निष्पक्ष र निर्द्वन्द्व छनोटको प्रक्रिया । इच्छा बमोजिम पाठ्यक्रमको सुव्यवस्थापन, आवश्यक शैक्षिक स्रोत साधनको उपलब्धता, समयमै कुना कन्दराको विश्लेषण । पाठ्यक्रम ऋतु अनुरूप परिवर्तन होइन नितान्त दशक समयका लागि समयसापेक्ष निर्माण । नेपालको भौगोलिक अवस्था र हावापानीमा अनभिज्ञ रहेकाे वर्तमान अवस्थामा युरोप र अस्ट्रेलियाको भौगोलिक अवस्था र हावापानीमा भन्दा अध्ययनमा नेपालकै हावापानी र भौगोलिक अवस्थालाई जोड दिन सके मात्र अन्त्य हुन्छ कम्युनिस्टहरूको उपमा बुर्जुवा शिक्षाको ।             – देवेन्द्र सापकोटा

२०७९ आश्विन १४, शुक्रबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।