हालसालै सरकारले भारतमा भन्दा कम्तिमा ३ गुणा महँगोमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय एक अनधिकृत कम्पनीलाई दिने निर्णय गरे लगत्तै यसको चौतर्फी विरोध भएको छ !
त्यस्तै यसै शिर्षकमा रहेर नेपालकै ठूलो विद्यार्थी संगठन “प्राज्ञिक विद्यार्थी परिषद नेपाल” ले एक विज्ञप्ति निकालेर सरकारलाई बुझाएको छ ! विज्ञप्ति निम्नलिखित रहेको छ ।
“देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागु गर्ने राष्ट्रहित विपरितको निणर्य तुरुन्त खारेज गरियोस” नेपालको राष्ट्रिय भाषालाई नेपाल सरकारले प्रयोग नगरे कसले गर्छ ?
नेपाली भाषाको सम्मान नेपालमा हुन नसके कहाँ हुन्छ ? नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ ।
नेपालको संविधान विपरित सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाइ विस्थापित गर्ने र इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा गत शुक्रबार राजपत्रमा प्रकाशित सूचना अनुसार श्रावण १ गतेदखि गण्डकी र बाग्मती प्रदेशमा सञ्चालन हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको प्रयोग अनिवार्य लगाउनु पर्ने र यदि इम्बोस्ड नम्बर प्लेटको प्रयोग नगरेको खण्डमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गर्ने जस्तो राष्ट्रहित विपरित, असंवैधानिक र अव्यावहारिक निणर्यप्रति प्राज्ञिक विद्यार्थी परिषद, नेपाल गम्भीर आपत्ति प्रकट गर्दछ ।
विगत केही वर्ष अगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत इम्बोस्ड नम्बरको कार्यान्वयनमा रोक लगाएको थियो ।
नेपालको बजेटलाई अन्य मुलकमा बुझाउने, नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले नेपाली भाषामाथिको प्रहार, जनतामाथिको आर्थिकभार, तथा देशको पुँजी विदेश प्रवाह गर्ने काम गर्नेछ ।
जसका कारण सरकारले विगतमा बहस भएर रोकिएको विषयलाई पुनः कार्यान्वयनका लागि सूचना प्रवाह गर्नुले बङ्घलादेश र अमेरिकाको संयुक्त ठेकेदार कम्पनी डेकाटुर टाइनगर आइटीसँगको सम्झौतामाथि नै प्रश्नचिन्ह खडा भएको छ साथै कमिसनको खेल र समूहगत स्वार्थसिद्धिका लागि देशको भाषा र संविधानको मर्म माथिनै कुठाराघात गरिरहेको स्पष्ट हुँदैछ ।
तसर्थ यस्तो राष्ट्रहित विपरितको सम्झौता तुरुन्त रद्द गर्दै नेपालमा नै कम शुल्कमा नेपाली भाषा र देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत राख्नका लागि प्राज्ञिक विद्यार्थी परिषद, नेपाल नेपाल सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
नेपाल आमाको जय।