वेदका कल्याणकारी मन्त्रवर्जित विवाह प्रगतिशील रे । – उप-प्राध्यापक श्याम खनाल
अहिले हाम्रो समाजमा विशेष गरेर कम्युनिष्ट दर्शनको हिमायती हुँ भन्नेले प्रगतिशील विवाहप्रति आकर्षित गर्ने गराउने गरेको देखिन्छ । मलाई पनि त्यो प्रगतिशील विवाह भन्ने कस्तो रहेछ ? के त्यहाँ गरगहना आदि सबै वर्जित गरिएको हुँदो रहेछ त ? के त्यहाँ भोज-भतेरका नाममा हुने अनावश्यक खर्च आदिलाई कम गरिएको हुने रहेछ त ? के त्यहाँ पोशाकको अनावश्यक तडक-भडक पनि गरिँदो रहेछ त ? भनी म पनि लुरुलुरु त्यस्तो विवाह हेर्ने उत्सुकताले केही वर्ष पहिलेको निम्तोअुनसार कसैको विवाहमा गएँ ।
विवाह सुरु हुने भनेको स्थानमा गएर हेरेँ । यज्ञ मण्डप, बाजा गाजा केही न देखेकोले एकछिन त अल्मलिएँ । हैन विवाह कतै रोकिएछ कि भन्ने लाग्यो । पछि विवाह स्थानमा घाँटीमा टाइ, कोटमा मार्क्सको फोटो भएको ब्याज र खुट्टामा गोल्डस्टारका जुत्ता लगाएर उभिरहेका पहाडबाट भरखर झरेका जस्ता नौला बुबालाई सोध्दा विवाह यहीँ नै हुने कुरा गर्नुभएकोले म पनि कुरेरै बसेँ । राम्रै मूल्य तिरेर होटलमा राखिएको प्रगतिशील विवाहमा होटलको वेटिङ्रुममा केही बेर कुर्न मलाई खासै गाह्रो लागेन । एकछिनपछि केटी पक्षका मानिसहरूको भेला हुन थाल्यो । सुटेड बुटेड जेन्टलमेनहरू र सुनका दाम्लाहरूले घाँटी भरिएका लेडिजहरूको उपस्थिति हुन लाग्यो । त्यसको केही बेरपछि जन्ती आए । म पनि दुलाहा पक्षको भएकोले जन्तीका पछि लागेँ । दुलाहाका बाबा हाम्रा आफन्ती भएकाले गएर नमस्कार गरेँ । जन्तीहरूको तडकफडक पनि केटी पक्षका मानिसहरूको भन्दा कम थिएन । कहिले पाइन्ट नलगाएका दुलाहाका बुबालाई टाइ पनि लगाइदिएर ल्याएको देख्दा अलि नौलो लाग्यो ।
विवाहमा जन्तीलाई स्वागत कोक फान्टा र स्प्राइटले गरियो । एकजना नेता टाइपका मानिस आएर उद्घोषण गर्न लागे । विशेष व्यक्तिहरूलाई आसन ग्रहण गराए भने अरु शेष व्यक्तिहरूलाई तलतिरै बस्न आग्रह गरे । पहिलेदेखिकै चिनजानमा दुलाहा दुलहीले एक-अर्कालाई मन पराएरै यो विवाह भएको भएता पनि जन्तीहरूलाई बेकुप बनाउँदै दुलाहाले स्टेजमा गएर दुलहीलाई विवाहको प्रस्ताव गरे । दुलहीले पनि स्टेजमै गएर आफूले पनि स्विकार गरेको कुरा ओकलिन् । दुलाहा दुलहीबाट माला टीका र औँठी एवं गरगहना साटासाट गर्ने काम गरियो । अङ्ग्रेजीमा Happy Wedding भन्ने शब्द गुञ्जियो। सबैले ताली पिटे । १४ वटा डिक्कमा राखेको माछा, मासु आदिको भतेर चल्यो । आफूलाई नचल्ने भएकोले पानी र जेरी खाएर बसेँ । एकजनाले मुख मिठाउँदै क्या राम्रो व्यवस्था गरेछ । एकजनालाई १८०० बराबरको खर्च रे भन्दै थिए । वेदमन्त्र विनै विवाह सकियो । वेदका मन्त्र पढेर यज्ञ गर्दा लाग्ने धेरैमा पनि दक्षिणा सहित रु ३५००।- लाग्ने रकम बचाएर प्रगतिशीलको नाटक गरियो ।
मैले केही समय पहिलेदेखि नै लेख्दै आएको छु । नेपाल एवं भारत र अन्य अविकसित स्थानहरूमा अमेरिकी लगानीमा कम्युनिष्टहरूको सुरुवात गरिएकै त्यहाँको सनातन परम्परालाई नष्ट गरेर विस्तारै क्रिश्चियनीकरण कै लागि हो । मदन भण्डारीले त्यो कुरा बुझी कम्युनिष्टहरूमा केही संशोधन गरेका थिए । अहिले पनि चाइनाले त्यहाँको सनातन परम्परालाई बचाउँदै लगेकोले उसलाई अमेरिकाको दानापानी खाएका कमनिष्ट (निष्टता नभएका) हरूले चाइनाले प्रजातन्त्रको मास्यो भनी विभिन्न माध्यमले आफ्ना कुरा उकेल्ने गरिरहेका छन् । नेपालमा पनि मठ-मन्दिर बनाउने, दौरा सुरुवाल लगाउने कम्युनिष्टलाई दक्षिणपन्थी र प्रतिगमनकारी भन्ने गरिएको प्रत्यक्षै छ । संसदमा जाँदा पनि नेपाली पनको राष्ट्रिय ड्रेस नलगाइकन कुनै फिरङ्गीको ड्रेसमा विदेशी वाद र भेषभुषाको प्रचार-प्रचार गर्ने र जनता झुक्काउन राष्ट्रियता र देशभक्तिका कुरा गर्नेहरूको कमी छैन ।
एउटा उदाहरणको लागि यहाँ प्रस्तुत गरिएको विवाह जस्तै अन्य महत्त्वपूर्ण स्थानमा पनि यी प्रगतिशीलहरूले हाम्रो वैदिक सत्य सनातन परम्परालाई कुल्चिँदै सुुट टाइ लगाउनुलाई नै प्रगति देखेका छन् । त्यही अनुरुप गरिमामय संसदमा उपस्थित हुने गरेका छन् । सिन्दुर गुन्यु चोली बिना विदेशीको ड्रेस लगाएर संसदमा गई जानी नजानी yes, no र thank you भन्नु नै प्रगति देखेका छन् । पूर्व प्रधानमन्त्री जस्ता र वर्तमान मन्त्रीहरूलाई पनि नेपाली ड्रेसको ख्याल छैन । त्यसैले चलि आएको सत्य सनातन परम्परालाई कुल्चँदै, विश्वकल्याणकारी वैदिक मन्त्रहरूको बहिष्कार गरी विधर्मीहरूको संस्कृति, संस्कार र ड्रेस अबलम्बन गर्नु नै यहाँ प्रगतिशीलको परिभाषा हुन गएको छ । अस्तु ।