कृप्टोकरेन्सीमा सरकारले निगरानी बढाए सङ्गसङ्गै, कारोबारीले नया तरिका अपनाउन थाले प्रतिफल भित्र्याउन
काठमाडौं । क्रिप्टोकरेन्सी र हाइपरभर्समा लगानी गर्नेहरु लगानी र प्रतिफल फिर्ता ल्याउने नयाँ विकल्प खोज्न थालेका छन् । पुँजी पलायनका कारण अर्थतन्त्र नै धरासायी बन्दै गएको भन्दै सरकार र नेपाल राष्ट्र बैंकले निगरानी बढाएपछि भइसकेको लगानी र त्यसबाट प्राप्त प्रतिफल फिर्ताका लागि नयाँ बाटो खोज्न थालेका हुन् ।
अहिले सरकारी संयन्त्रले २ तरिकाबाट यस्ता कारोबारीको ‘ट्रेस’ गरिरहेको छ । पहिलो यस्तो कारोबारलाई प्रोत्साहन गर्नेहरुलाई कारबाही गर्दै आएको छ । केही व्यक्ति पक्राउ परेको समाचार आएपछि यस्तो गतिविधि अहिले ठप्पजस्तै छ ।
उता, बैंकिङ च्यानलमा भएको असामान्य कारोबारमाथि राष्ट्र बैंकले शुक्ष्म निगरानी गरिरहेको छ । केही दिनअघि राष्ट्र बैंकले बैंकहरुलाई ७ लाख रुपैयाँसम्मको कारोबारको विवरण पठाउन दिएको निर्देशन समेत क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणमै केन्द्रित भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
‘१० लाखभन्दा माथिको कारोबारको सबै विवरण एफआईयूमा पठाउने व्यवस्था सबैलाई थाहा भएकोले यस्ता कारोबारीले त्योभन्दा बढी कारोबार नै गर्दैनन् । त्यसैले ७ लाखभन्दा बढी कारोबारको विवरण मगाएर अध्ययन थालिएको हो,’ राष्ट्र बैंकका एकजना अधिकारी भन्छन्, ‘चाहेको बेला राष्ट्र बैंकले सानो सानो कारोबारलाई समेत निगरानी गर्नसक्छ भन्ने शन्देश दिन पनि राष्ट्र बैंकले दिन खोजेको हो ।’
क्रिप्टोकरेन्सीका लागि पुँजी पलायन रोक्न सरकारको उक्त कदम सफल भए पनि यसअघि भइसकेको लगानी फिर्ता ल्याउन भने यसले थप समस्या देखिएको छ । देशको अर्बौं रुपैयाँ सम्पत्ति जोखिममा पर्ने देखिएको छ ।
नेपालीले पछिल्लो समय सबैभन्दा बढी लगानी हाइपरभर्समा गरेका छन् । त्यसबाहेक पहिलेदेखि नै रहेको बिटक्वाइनमा समेत नेपालीको लगानी छ । विश्वमा बीसौं हजार भर्चुअल मुद्रा भए पनि अन्य मुद्राहरुमा भने नेपालीको आकर्षण कम पाइन्छ । पछिल्लो समय २० महिनामै तेब्बर फिर्ता हुने आशमा हाइपरमा लगानी गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो ।
यकीन तथ्यांक नभए पनि अहिलेसम्म क्रिप्टोकरेन्सी र हाइपरभर्समा अहिले ५० अर्ब रुपैयाँभन्दा धेरै लगानी भएको अनुमान गरिएको छ । बैंकिङ च्यानलबाट बाहिरिएको पैसा र घट्दै गएको रेमिट्यान्सका आधारमा यस्तो अनुमान गरिएको हो । तर, प्रतिफल प्राप्त गरिरहेका लगानीकर्ताले पनि त्यसलाई स्वदेशी मुद्रामा परिवर्तन गरेर रकम प्राप्त गर्नसकिरहेका छैनन् ।
कस्तो विकल्प विकल्प खोज्दैछन् कारोबारीहरु ?
यस्ता कारोबारबाट भएको आम्दानी प्राप्त गर्न अहिले विदेशमा रहेका आफन्त र चिनजानका व्यक्तिको सहयोग खोज्न थालेका छन् । नेपालमा सीधै रकम प्राप्त गर्दा यसको रेकर्ड बैंकहरुमा हुने भएकोले विदेशबाटै रकम प्राप्त गरेर हुन्डी वा रेमिट्यान्समार्फत् फिर्ता पठाउने क्रम अहिले बढेको छ ।
तर, यसरी घुमाउरो तरिकाले प्रतिफल फिर्ता ल्याउँदा यसको लागत भने महँगो पर्ने अवस्था रहेको नाम उल्लेख नगर्ने शर्तमा एकजना क्रिप्टो कारोबारी बताउँछन् । उनका अनुसार यो तरिकाबाट रकम फिर्ता लिँदा सम्बन्धित देशको कानूनअनुसार लाभकर तिर्नुपर्छ । रेमिट्यान्सको लागि अर्को थप शुल्क तिर्नुपर्ने भएकोले यसले प्रतिफल घट्छ ।
‘बाहिरबाट पैसा निकाल्दा त्यहाँ नियमअनुसार कर तिर्नुपर्छ । कुनै देशमा कर कम हुन्छ, कतै महँगो हुन्छ,’ ती लगानीकर्ता भन्छन्, ‘ट्याक्स हेभन कन्ट्रीमा आफन्त भए त धेरै समस्या हुँदैन । तर, धेरै ट्याक्स तिर्नुपर्ने देशमा चाहिँ समस्या हुन्छ ।’
उनी विदेशमा तिर्तुपर्ने कर नेपालमै तिरेर ल्याउने व्यवस्था भए यसले सरकार र लगानीकर्ता दुवैलाई फाइदा पुग्ने दाबी समेत गर्छन् । ‘भारतले ३० प्रतिशत कर लगाउन थालेको छ, ३० प्रतिशत त महँगो नै हो । तर, अमेरिका/अष्ट्रेलिया जस्ता देशको जस्तो ५/१० प्रतिशत कर लिने हो भने सहजै तिर्न तयार हुन्छन्, यसले सरकारलाई अर्बौं रुपैयाँ राजश्व प्राप्त हुन्छ,’ ती कारोबारी भन्छन्, ‘होइन भने पनि कुनै न कुनै तरिकाले त लगानी गर्नेले पैसा लिइहाल्छन्, यसले अनौपचारिक अर्थतन्त्रको साइज मात्रै बढाउँछ ।’
अहिले सरकार भने यसरी अवैध रुपमा गरिएको लगानी र त्यसबाट प्राप्त प्रतिफललाई समेत एएमएल–सीएफटी को दायरामा ल्याएर कारबाही गर्ने तयारी गर्दैछ । यसो हुँदा यसरी लगानी गरिएको रकम पाइए सबै रकम जफत हुन्छ ।
तर, यस्तो गर्दा सरकारलाई नै हानी हुने ति कारोबारी तर्क गर्छन् । ‘क्रिप्टोकरेन्सीमा लगानी अहिलेको व्यवस्था अनुसार गैरकानूनी हो । तर, यो आतंकवादी क्रियाकलापबाट आर्जित सम्पत्ति होइन,’ उनी भन्छन्, ‘यो सरकारसँग जोडिएको विषय मात्रै होइन, लाखौं लगानीकर्ताको सम्पत्तिको सुरक्षाको विषय पनि हो ।’ समय र प्रबिधीतर्फ अघि नबढेर पुरनै कानुनलाइ समातेर अघि बढ्ने हो भने नेपाल १६ औँ शताब्दीमा फर्के हुन्छ, त्यस्तै इसेवा, खल्ती, जस्ता डिकिटल बन्किङ कारोबारी आइसके बिदेशमा क्यासलेस काउन्टेर भैसके हामी अझै उहीँ कागजको पैसा बोकेर उहीँ पुरानै शैलीमा कतिन्जेल चल्ने? उता भारतमा कानुन बने लगत्तै अब हेर्दै जानुस नेपालको अर्थ कसरी डामाडोल हुन्छ अनुमान पनि गर्न सकिने अवस्था छैन भन्छन अर्का कृप्टो कारोबारी।