मधेश, प्रदेश कि परदेश ?

मधेश, प्रदेश कि परदेश ?

– उप-प्राध्यापक श्याम खनाल

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

लिच्छविकालीन विशाल नेपाललाई विस्तारै विस्तारै सामन्तहरूले आफूलाई नै सर्वोपरि घोषणा गरी केन्द्रसँग सम्बन्ध टुटाउँदा २२ से २४ से राज्यहरू बनेका थिए । यी राज्यहरूको धर्म, संस्कार, संस्कृति सबै मिल्दोजुल्दो नै थियो । चाहे मगरले राज्य गरेको होस् या राईले राज्य गरेको होस्, या कुनै थकालीकै राज्य होस् वा झाकै राज्य होस् सबै ॐकार परिवार भित्रकै थिए । हिमाल, पहाड र तराईको भौगोलिक रहनसहनले कसैका नाक चुच्चा थिए भने कसैका थेप्चा । कोही गोरा थिए भने कोही काला । तर सबै वेद, त्रिपिटक या मुन्धुमका अनुयायी थिए । वेद मान्नेले त्रिपिटक र मुन्धुमको पनि सम्मान गर्थे भने त्रिपिटक मान्नेले वेद र मुन्धुमको पनि सम्मान गर्थे । त्यस्तै मुन्धुम मान्नेले पनि सबै सम्प्रदायको सम्मान गर्थे । शिव, बुद्ध र किरातेश्वर एकै हुन् भन्नेमा सबैको मतैक्य थियो । राष्ट्रदेव पशुपतिनाथ सबैका साझा थिए । धर्मको अनुशासनले सबैलाई बाँधेको थियो । मुसलमानको र अङ्ग्रेजको सिकारबाट जोगाउन गोरखाका राजा पृथ्वीनारायण शाहले लिच्छविकालपछि टुक्रिएको विशाल नेपाललाई पुनः एकीकरणको बीजारोपण गरे । सबैको धर्म, संस्कार र संस्कृति मिल्दोजुल्दो नै भएकोले एकीकरण भइसकेपछि पनि त्यस्तो समस्या कुनै आएन । अहिले अनावश्यक प्रचार प्रसार गरी नेवारका नाक काटिदिएका, मगर र गुरुङ्हरूलाई सत्ताच्यूत गरी उनीहरूलाई दास बनाइएका कथाहरू देशलाई टुक्रा टुक्रा पारी विदेशीको ईशारामा देश चलाउने सत्ताभोगीहरूका कुरा हुन् नकि कुनै आधिकारिक विद्वानहरूका ।

२०६२-२०६३ पछिको आन्दोलन पछि एकाएक दन्किएको आगोले देशलाई प्रदेशमय बनाइछाड्यो । कतै, संसारमा कुनै वेला अस्तित्वमा रहेका तर पछि अप्ठ्यारोमा पर्दै गएका विभिन्न राज्यहरूलाई प्रदेशको रुपमा मिलाएर एउटा सिङ्गो देश बनाइएको हुन्छ भने, कतै ठूला देशको शासन व्यवस्था सजिलो बनाउनको लागि प्रदेशको कल्पना गरी देश चलाइएको हुन्छ । तर नेपालमा ती दुबै कुरा भएको अवस्था थिएन । अनावश्यक रुपमा खडा गरिएका प्रदेशको खर्च नेपालले व्यहोर्न सक्ने सम्भावना पनि थिएन, र पनि नेपाली जनताको इच्छा नहुँदा नहुँदै पनि देश प्रदेशको रुपमा विभाजित भइछाड्यो । हाम्रो जस्तो सानो देशमा प्रदेशको काम नेता पाल्नेभन्दा अरु केही रहेनछ भन्ने सबैलाई अनुभूति अहिले बल्ल भएको छ ।

भरखर मात्र नेपालमा विकेन्द्रीकरणका लागि बनाइएका ७ वटा प्रदेश मध्येको २ नम्बर प्रदेशलाई मधेश प्रदेशको नाम दिइएको छ । देशलाई प्रदेशमा विभाजनका वेलामा कुनै पार्टीहरूले १४-१५ टुक्रा पारी विभिन्न जातीय राज्य चलाउने प्रदेशको कल्पना गरेका थिए भने कसैले हिमाल पहाडमा जति प्रदेश भए पनि तराईमा भने एक मधेश एक प्रदेशको कुरा ल्याइरहेका थिए । तराईमा एक मधेश एक प्रदेशको कुरा कसरी छिर्‍यो भन्ने कुरा धेरै नै विचारणीय विषय हो । त्यसको प्रमुख कारण भनेको माओवादीको माग अनुरुप सबै पार्टीहरू मिली ल्याइएको नागरिकता विधेयकले त्यहाँका रैथाने मधेशी नागरिकलाई नागरिकता दिने नाममा धेरै वङ्गलादेश र पाकिस्तानबाट आएका एवं भारतमा नागरिकता नपाएका शरणार्थीहरूलाई नागरिकता दिनु हो । त्यसबेलामा केही भारततिर पनि नागरिकता भएका व्यक्तिहरूलाई पनि नागरिकता दिइएको कुरा विभिन्न छापामा आइरहेकै विषय हो । यो कुराको पीडाका रुपमा नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको २०६९ सालमा रिजल्ट आउँदा, मधेशकै साथीले त्यो पास हुने त नयाँ नागरिकताधारी हो भनेबाटै वास्तविक मधेशीको अधिकार कसले खोसेको रहेछ भन्ने कुरा प्रमाणितै छ ।

त्यस्तै मधेसमा त्यहाँको रैथाने समाजले माग नगरेका विषय लादिएका हुन् भन्ने कुरा पूर्व प्रदेश प्रमुख अहिराजको अन्तर्वार्ताले प्रमाणित गरिदिएको छ । मधेशमा पहाड विरुद्ध धेरै नारा लगाउन लगाइयो । हिन्दूका प्रतीक टोपी र धोतीलाई नै फरक रुपमा प्रस्तुत गराउँदै टोपी जति पहाड, धोती जति मधेश भन्ने खालको विखण्डनले युक्त नारा घन्काइयो । मधेशको गरीबीको कारण भनेकै पहाडका एक छाक पनि खान नपाएकाहरूको दमन भनियो । यो सबै कुराको कारण भनेको त्यहाँको आन्दोलनलाई रैथाने मधेशको देशभक्त मानिसले नेतृत्व नगरेर कुनै आयातित र आयातितको पिछलग्गुले गरेको कुरा सर्वसाधारणले पनि जानेकै विषय हो । नेपाली भाषाको विरोधको नाममा त्यहाँ त्यहाँकै रैथाने भाषाको समेत प्रयोग नगरी अङ्ग्रेजी र हिन्दीको प्रयोग गरिराखिएको छ । दौरा सुरुवाल र टोपीको प्रयोग लाई छोड्ने नाममा विदेशी ड्रेस सुट-टाईलाई महत्त्व दिइएको छ । मधेशको संसदमा दौरा सुरुवाल र टोपीको एलर्जी नै भएको हो भने धोती र गम्छा प्रयोग गर्नुको साटो त विदेशी ड्रेसमा कठपुतलीहरूलाई सजाइएको छ । मधेशको संसदभित्रको लगाई-खबाई नै मधेसी जनताकै धर्म संस्कार र संस्कृति विपरित छ ।

साँच्चै मधेसीले न दौरा सुरुवाल र टोपीलाई अन्यथा देख्छ, न साँच्चै पहाडीले धोती र गम्छालाई अन्यथा देख्छ । यी दुबै पोशाक वैदिक कालदेखि नै विकसित पोशाक हुन् । टोपी शिव र पार्वतीको वासस्थान हिमालको प्रतीक हो । प्रत्येक नेपालीको टोपीमा शिव र पार्वती बसेर त्यस व्यक्तिको रक्षा गरिरहनुभएको विश्वास रहेको छ । त्यस्तै टाँक नभएका दौरा सुरुवाल पनि ॐकार परिवारले मानेका शुद्ध पोशाक हुन् । त्यसैले यी पोशाक न हिमाल, न पहाडका मात्र हुन् यी त सबै नेपालीका साझा पोशाक हुन् । त्यसैले मधेश, पहाड एवं हिमाल कुनै पनि कुराले पनि भिन्न क्षेत्र होइनन् । यहाँका वासिन्दाले मान्ने भगवान् पनि एकै छन् । धर्म पनि एकै छ । मधेशीले मुक्तिनाथ र पशुपतिनाथ नगइकन आफ्नो तीर्थ व्रत पुरा भएको मान्दैनन् । त्यस्तै पहाडिया पनि मुक्तिनाथ र जनकपुर नगईकन उसले आफ्नो तीर्थ पुरा भएको मान्दैन । एवं हिमाली पशुपतिनाथ र लुम्बिनी गएर मात्र आफ्नो तीर्थ पुरा गर्छन् । त्यसैले सबै कुरा साझा भइसकेपछि देश पनि राम्रो साझै हो ।

अन्त्यमा २ नम्बर प्रदेशमा जुन किसिमको योजना अनुरुप त्यहाँ जनकपुर, मिथिला, जानकी जस्ता विशाल अर्थ भएका कुरालाई छोडेर एउटा संकुचित शब्दको नाममा सिङ्गो प्रदेशलाई नामाकरण गरियो, यो आफैमा अत्यन्तै घातक छ ।

नेपालको माया भएका त्यहाँका रैथानेहरूलाई गरिएको ठूलो धोका हो । जनक संस्कृति र भगवती सीताको अपमान हो । यसले मधेशलाई प्रदेशको रुपमा नलगेर परदेशको रुपमा लैजाने षडयन्त्र हो । जय जानकी ।

 

२०७८ माघ १३, बिहीबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।