टपरीले ढाकेको संस्कृत – उप-प्रा. श्याम खनाल
विद्यापीठको हिउँदे विदामा २०६६ सालतिर जन्मभूमि अर्घाखाँची तर्फ घुम्न जाने निधो गरियो । २०५६ सालदेखि जान नपाएको मातृभूमिको २०६६ सालमा स्पर्श गर्न पाउँदा खुशीको सीमा नै रहेन । पथ्थरकोटबाट उकालो लाग्दा बसको यात्रामा साह्रै नै रमाइलोको अनुभूति भयो ।
डोँटे‚ चाक्ला‚ ठाडा‚ बुढीचौर‚ सुपा-खोला हुँदै सुपा देउराली पुगियो । सुपा देउरालीमा माता भगवतीको दर्शन पश्चात् नरपानी‚ घुम्टी‚ फुदवाँङ् हुँदै सन्धिखर्क पुगियो । केही वर्ष अगाडिसम्म पत्थरकोटबाट पुरा एक दिनको बसको यात्रामा बल्ल तल्ल पुगिने सन्धिखर्क बाटो पिच भइसकेकोले ४ घण्टामा पुग्दा त सपना कि विपना जस्तो लाग्यो ।
बेलुका मलाई ज्योतिषसम्बन्धी अमूल्य ज्ञान दिने आदरणीय गुरु एवं बुबा पं. छन्दप्रसाद शर्माको घरमा बसियो । त्यहाँ आमा‚ दाजी‚ भाउजू‚ नानी‚ बाबुहरूसँग सामान्य भलाकुसारी भयो । त्यसै सिलसिलामा मलाई आमाले तिमी त संस्कृतमा धेरै पढेर आयौ रे अब त ब्या (विवाह)‚ वर्तन (ब्रतबन्ध)‚ सराद (श्राद्ध) सबै गराउन सक्छौ होला भन्नुभयो । त्यहाँ मेरा आदरणीय गुरु एवं गुरुपुत्र दाजीले मेरो पढाईको बारेमा बुझ्नुभएकोले मैले आमालाई धेरै बुझाउने प्रयास नगरी हजूर सक्छु आमा मात्र भनेँ ।
यहाँ आमाको माध्यमले संस्कृत शिक्षाको बारेमा जनसाधारणको बुझाईलाई झल्काउने प्रयास गरेँ । अर्थात् अधिकांश सर्वसाधारणको संस्कृतप्रतिको बुझाई भनेकै कर्मकाण्ड हो । अझ गाउँले भाषामा भन्नुपर्दा टपरो टक्टकाईको लागि पढिने भाषा भनेको संस्कृत हो ।
सर्वसाधारणले त्यस्तो बुझ्नुको प्रमुख कारण भनेको संस्कृत पढेका मानिसहरूको व्यवहार नै हो । अहिले पनि अधिकांशले संस्कृत पढ्नुको प्रमुख कारण नै कर्मकाण्डमा आश्रित भई जीविकोपार्जन गर्नु नै हो । नेपालमा संस्कृतका गुरुकुलहरू व्यापक रुपमा खुल्नु त सकारात्मक पक्ष नै हो । तर ती संस्थाहरूबाट उत्तीर्ण जनशक्तिलाई हेर्ने हो भने ती अधिकांश जनहरू उही कर्मकाण्डकै बाटोमा लागेको देखिन्छ ।
त्यस्तै ज्यौतिष पढ्नेहरूको त झन् कुरो नै नगरौँ । नेपाल-संस्कृत-विश्वविद्यालयको ५ महीने प्रशिक्षण पढेकाहरू नै अहिले बजारका ज्योतिर्विद्, वास्तुविद् र खगोलविद् हुन् । दारी पालेर हुन्छ वा जुँगा मठारेर हुन्छ अथवा निधारमा तेर्सो चन्दन लाएर हुन्छ वा ठाडो चन्दन लाएर हुन्छ, त्यस्तै पाइन्ट बाहिर धोती लगाएर पो हुन्छ कि उनीहरू भाग्यवादी जनतालाई जालमा पारी उल्टापाल्टा फलादेश गरेर पैसा कमाउन माहिर छन् ।
यहाँ कर्मकाण्ड र ज्यौतिषप्रतिको नकारात्मक धारणा पोख्न खोजिएको भने पक्कै होइन । ती अत्यन्तै शास्त्रपरक र वैज्ञानिक छन् । वेदका तीन काण्ड मानिएका छन्- उपासना काण्ड, ज्ञानकाण्ड र कर्मकाण्ड । वेदका एकलाख मन्त्रहरूमध्ये ८०००० त कर्मकाण्डसँग सम्बन्धित छन् । १६००० उपासनासँग सम्बन्धित छन् भने ४००० मात्र ज्ञानकाण्डसँग सम्बन्धित छन् । त्यसैले अपार ज्ञानराशि वेदलाई जान्नको लागि यी तीनै काण्डको ज्ञान आवश्यक छ । कर्मकाण्डबाट भक्तिको बृद्धि हुन्छ । भक्ति गर्दागर्दै ज्ञान हुन्छ अनि मात्र मुक्ति मिल्छ । मानव जीवन सार्थक तुल्याउनको लागि कर्मकाण्डको अत्यन्तै आवश्यकता छ । त्यस्तै विभिन्न कर्मकाण्ड कुन समयमा गर्दा शुभाशुभ कस्तो फल हुन्छ भन्ने कुराको ज्ञान ज्यौतिषले गराउने हो । विभिन्न शुभाशुभ समयमा जन्मिएका मानिसको फलादेश गरी बाटोमा ट्राफिक सिग्नलले काम गरे जस्तै जीवनरुपी लामो बाटोमा मार्गदर्शन गराउने काम ज्योतिषले गर्ने हो । त्यसैले कर्मकाण्डका मन्त्रहरू एवं ज्योतिषका फलादेश कुनै पण्डितका सन्तानका पेट पाल्न र ऐश आरामका लागि बनाइएका विषय होइनन् ।
यत्रा ज्ञानका भण्डार वेद छन् । यती धेरै उपनिषद्हरू छन् । यत्रा पुराणहरू छन् । ती भित्र रहेका अनेकौँ दर्शनहरू छन् । बौद्धदर्शनमा प्रख्यात विज्ञानवाद, क्षणभङ्गवाद, अनात्मवाद तथा वैराग्यवाद उपनिषद्कै कुराहरू हुन् । चार्वाक-दर्शनको भौतिकवाद उपनिषद्को दार्शनिक विरोचनको दर्शन हो । जैनदर्शनका अनेक सिद्धान्तका स्रोत उपनिषद्हरू हुन् । वेदान्त दर्शन उपनिषद्कै उपज हो । कर्ममीमांसाले कर्म, उपासना र ज्ञानको समन्वयलाई ध्यान दिएको छ । ऋषि गौतमको न्यायशास्त्रमा रम्नुको मजा बेग्लै छ । प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त आदि १६ पदार्थका तत्त्वज्ञानले मुक्ति मिल्छ भन्ने गौतमको भनाई छ । फेरी वैशेषिक दर्शन लिएर ऋषि कणाद उपस्थित भएका छन् । आजभन्दा हजारौँ वर्ष पहिला ऋषि कणादले परमाणुवादको स्थापना गरेका थिए । त्यस्तै सांख्य दर्शन लिएर ऋषि कपिल उपस्थित भएका छन् । सांख्यदर्शन आधुनिक फिजियोलोजिकल साइकोलोजीसँग धेरै नजीक छ । महर्षि पतञ्जलीको योगदर्शन त झनै कुरो नगरौँ । पूर्वमीमांशा र उत्तरमीमांशा दर्शन त्यस्तै महत्त्वपूर्ण छन् । वेदान्तदर्शन भित्र पनि अद्वैत, वैशिष्टाद्वैत, द्वैताद्वैत, द्वैत, शुद्धाद्वैत, अचिन्त्य भेदाभेद दर्शनमा रम्नुको मजा बेग्लै छ । एवम् तन्त्रदर्शन भित्रका शैव, शाक्त, बौद्ध, वैष्णव तन्त्र पनि त्यस्तै बेजोड छन् । महर्षि महेश योगीको भावातीत ध्यानमा रम्नुको त्यस्तै मजा छ । धन्वन्तरीको आयुर्वेद र सुश्रुतको चिकित्सापद्धति नै आधुनिक चिकित्सा पद्धतिका पिता हुन् ।
तर यी कुनै पनि चिज पढ्ने फुर्सद हामीलाई छैन । छ त केबल नजानी नजानी तिनीहरूको खण्डन गर्ने फुर्सद छ । संस्कृतका यत्रा ज्ञानभण्डारलाई टपरीरुपी अज्ञानताले ढाकेको छ । यत्रा ज्ञानभण्डारलाई अलि अलि संस्कृत पढेकाहरूले टपरीले ढाकेर अरुका लागि शंख फुक्दैमा व्यस्त छन् भने झन् नपढेकाले त टपरी उल्टाएर त्यसभित्रको ज्ञान लिनुको सट्टा टपराश्रित कुनै विवेकहिनको व्यवहारलाई उदाहरण दिँदै डलर डकार्दैमा मस्त छन् । यत्रा ज्ञानराशि पढेर आत्मज्ञान लिनुको सट्टा त जानी, नजानी, उल्टा, पुल्टा कुरा लेखेर वा समाजमा भाँड-भैलो मच्चाएर अथवा त्यतिले मात्र भएन भने गधामाथि चढेर भए पनि प्रसिद्ध हुनु परेको छ । अस्तु ।