माओवादी : बुख्याँचा बन्ने काम नहोस् –श्याम खनाल
(नेपाली माटो सुहाउँदो बनोस्–माओवादी केन्द्रको कार्यनीति)
तत्कालीन अवस्थामा सरकारसँग माग गरेका ४० बुँदे मागपत्रका कुरा पुरा हुन नसकेकाले नेकपा माओवादी (हालको माओवादी केन्द्र) २०५२ फाल्गुन १ गतेदेखि भूमिगत भएको थियो । माओवादीले प्रस्तुत गरेको बुँदा नं. १० को जनगणतन्त्रात्मक व्यवस्था र बुँदा नं. १८ को धर्मनिरपेक्ष राष्ट्रको माग बाहेक अधिकांश मागहरू जनमुखी नै थिए । तर अरु सबै राम्रा खालका मागहरू भएकाले जनता राजतन्त्र फालेर गणतन्त्र आएपछि र देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि त देश स्वर्ग नै बन्ने रहेछ भन्ने ठूलो अपेक्षाका साथ युद्धमा होमिए । यस्तै खालका जनप्रेमी मागका कारण पनि माओवादीले थोरै समयमा नै ठूलो शक्ति सञ्चय गर्न सफल भयो ।
जब माओवादी आन्दोलन भरखर मात्र सुरु भएको थियो, त्यो बेलामा बहुदल आएको ६ वर्ष पुग्दा पनि देशले काँचुली फेर्नु त कहाँ हो कहाँ यहाँ सत्ताको लुछाचुँडी चलिसकेको थियो । बहुमतमा रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारलाई उहाँकै आफ्नै पार्टीका सांसदहरूले विभिन्न लालचमा ढाली देशलाई मध्यावधि चुनावमा जानुपर्ने बाध्यतामा पारेका थिए । जुन उत्साह उमङ्गले जनताले सक्रिय राजतन्त्र ढाली बहुदलीय प्रजातन्त्र सहितको संसदीय व्यवस्था ल्याएका थिए, तर त्यो व्यवस्थाका ठेगेदारहरूले जनपक्षीय काम गर्न सकिरहेका थिएनन् । भ्रष्टाचारीहरूको बोलवाला चल्न थालेको थियो । राम्रालाई भन्दा पनि आफ्नालाई काखी च्याप्ने प्रवृत्तिको विकास भएको थियो । त्यसैले पनि जनताले माओवादीको आन्दोलनलाई साथ दिएका थिए ।
माओवादीहरूले पनि भरखर आन्दोलन सुरु गर्दा त अधिकांश जनताको मन जित्न सफल भएका थिए । गाउँ–गाउँमा जुवा, तास, रक्सि बन्द गराउने, विदेशी संस्कारको विरोध गरी स्वदेशी संस्कारलाई प्रश्रय दिने, जनतालाई अन्याय गर्ने गराउनेलाई कार्यबाही गर्ने आदि कार्यले गर्दा उनीहरू जनप्रिय बन्न सफल भएका थिए । तर विस्तारै विस्तारै उनीहरूले माग गरेका आफ्ना मागहरूमध्येका बुँदा नं १, २, ३, ४ र ५ लाई नै विर्सेर भारतीय कम्युनिष्ट सहितको तत्कालीन भारतीय सरकारसँग नै सम्झौता गरी उतैबाट प्रशिक्षित भई नेपाली प्रहरी र सेना विरुद्ध गुरिल्ला युद्ध नै चलाएका थिए । तत्कालीन भारत सरकारले बाहिर बाहिर यसो दुई चार जना माओवादी नेताहरूलाई समातेको जस्तो त गर्थ्यो, तर प्रचण्ड, बाबुराम लगायतका मुख्य मुख्य नेताहरूलाई भने उसकै देशमा आश्रय दिइरहेको थियो । त्यस समयमा माओवादीहरूले क्रियापुत्रीहरूलाई दुःख दिने, संस्कृतका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या, पुराणवाचक नारायण पोख्रेलको हत्या आदि अत्यन्तै निन्दनीय काम गरेका थिए । तर पनि सुखको अपेक्षासहित गाउँगाउँमा माओवादी आन्दोलनलाई तन, मन र धनले सहयोग पुर्याइरहेका जनताले भने ठूला ठूला काम गर्दा व्यक्तिगत रिसिविका कारण साना तिना काम भए होलान् भनेर त्यस्ता भयानक घटनाहरूलाई पनि कुनै दृष्टिकोणले पनि शङ्का नगरी माओवादी आन्दोलनलाई साथ नै दिएका थिए ।
युद्धको चपेटामा परिरहेको देशमा युद्ध रोकियो । भारतीय मनमोहन सरकारकै प्रत्यक्ष रोहवरमा शान्ति सम्झौताहरू भए । जनताहरूलाई अब देशमा केही राम्रो पक्कै हुने भयो भनेर आशा पलायो । तर त्यसको विपरित माओवादीहरूको मागमा परेको तर जनचाहना विपरितको धर्मनिरपेक्षतालाई मनोनित सांसदहरूलाई प्रयोग गरी संसदबाट पारित गरियो । त्यसै बखतमा देशका रैथाने मधेसीहरूलाई नागरिकता दिनुको सट्टा बंगलादेश, पाकिस्तान र अन्य देशबाट आएर भारत र नेपालका विभिन्न नाकाहरूमा बसेका शरणार्थीहरूलाई नागरिकता विधेयक मार्फत् नागरिकता दिने काम गरियो । नागरिकता विधेयक मार्फत् नेपाली बनाइएका शरणार्थीहरूलाई प्रयोग गरी मधेश आन्दोलनको नाटक मञ्चन गरियो । त्यही नाटकले देशले थेग्नै नसक्ने गरी संघीयता लागू गर्न बाध्य तुल्यायो । देशलाई धर्म निरपेक्ष बनाई यहाँका हिन्दू, बौद्ध, किराँत आदि रैथाने धर्माबलम्बीहरूलाई गरीबी र अशिक्षाको फाइदा उठाएर विभिन्न लोभ लालचमा धर्म परिवर्तन गराउने काम गरियो । देशका कुना काप्चामा पक्कि घरभन्दा पनि पक्कि चर्चहरूको निर्माण व्यापक रुपमा भयो । आर्थिक अवस्थालाई भन्दा पनि जात र धर्मका आधारमा समावेशीताको नियम लागू गरिँदा कुनै निश्चित जात भएकाहरू आफू योग्य हुँदाहुँदै पनि देशबाट पलायन हुन पुगे । पहाडका रैथाने मियाँ एवं तराइका पुराना मधेसीहरू र मुस्लिमहरूलाई समावेशीतामा संलग्न गरिनुको सट्टा बाहिरबाट ल्याइएर नागरिकता बाँडिएकाहरूलाई सजिलो हुने गरी समावेशीताका नियम बनाइए । केही सानातिना सकारात्मक कामहरू थालनी भएपनि माओवादी आन्दोलनका कारण अधिकांश नकारात्मक पक्षहरू नै भित्रिए ।
देशलाई स्वर्गमय बनाई नेपाली जनतालाई आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्यका साथ युद्धमा होमिएका माओवादीहरूको भरखर मात्र महाधिवेशन सम्पन्न भएको छ । एक छाकका भरमा जनताका झुपडीबाट आन्दोलन सुरु गरेका तिनै नेताहरू सुटेड बुटेड भई काठमाडौँमा जम्मा भएका छन् । सर्वाहारा वर्गका लागि लड्ने अधिकांश नेताहरूका नयाँ नयाँ भरसनका आइफोन, आइप्याड र म्याक बुकहरू खल्ती र झोलामा सुशोभित छन् । महङ्गा गाडीमा सयर गरी विभिन्न तारे होटलको बसाई छ । सबै जनताको यस्तै आलसी जीवनमा पहुँच भए त राम्रै भयो, तर देशको अवस्था कस्तो छ सबैलाई जानकारी नै छ । भेलाबाट हिन्दू धर्मका पुराणमा जान रोक लगाइएको छ । तर चर्च र मदरसाबारे केही बोलिएको छैन । हिन्दू धर्म नै देशमा पछौटे पनको कारणका रुपमा प्रस्तुत गरिएको छ ।
त्यत्रो त्याग सहित सुरु भएको माओवादी आन्दोलनको लक्ष्य आखिरी यही थियो त ? देशका जनतालाई बलिको बोको बनाइएको यस्तै दुई चार जनाको आलसी जीवनको लागि थियो त ? आमूल परिवर्तनका लागि १७००० नेपाली जनताको बलिदान भएको यसैका लागि हो त ? माओवादीका टाउकाहरूले अत्यन्तै गम्भीर भएर सोँच्ने दिन आएको छ । धर्म मान्ने न मान्ने त्यो व्यक्तिको स्वतन्त्रता हो । तर धर्म नमान्ने नाममा सबैको हित सोँच्ने संसारकै प्राचीन हिन्दू, बौद्ध, किरात धर्मलाई मात्र उखेली तपाइँहरूकै भाषामा भन्नुपर्दा अमेरिकी साम्राज्यवादबाट आफ्नो प्रभुत्व बढाउन प्रचार गरिएको क्रिश्चियन धर्म लाद्नु नै तपाइँहरूको अभीष्ट चाहना हो त ? आधुनिक बन्ने नाममा यहाँका भोटो, कछाड, दौरा, सुरुवाल, धोती, चोलो छाडी अमेरिकी साम्राज्यवादको सुट र टाइको ड्रेस लगाउनु नै तपाइँहरूको क्रान्तिकारिता हो त ? संसारकै सबैभन्दा प्राचीन र सभ्य भाषा संस्कृत नै नेपाली पछ्यौटे पनको कारण हो त ? विश्वका प्रत्येक मानिसको कल्याणका लागि सर्वे भवन्तु सुखिनः, संगच्छध्वम् संवदध्वम् सं वो मनांसि जानताम् आदि विश्वकल्याणकारी नारा लिएको वैदिक सनातन हिन्दू धर्म नै के तपाइँहरूको विकासको बाधक बनेको हो त ? यस्तै विभिन्न कुराहरूको व्यापक मूल्याङ्कन गरी आफ्ना नीति नियमहरू बनाउनोस् । चीनमा पनि भरखर मात्र त्यहाँको कम्युनिष्ट पार्टीले माओको सांस्कृतिक क्रान्तिलाई गलत ठहराई त्यहाँको धर्म, संस्कार, संस्कृतिको रक्षामा विशेष जोड दिने नीति बनाएको छ । त्यसैले जनयुद्धको सुरुवातमा सरकार समक्ष प्रस्तुत गरिएका धर्मनिरपेक्षता बाहेकका तिनै चालिस बुँदै सम्झौताहरूको कार्यान्वयनका लागि लागिपर्नोस् यसैमा तपाइँहरू एवं सम्पूर्ण नेपालीहरूको कल्याण छ । नभए तपाइँहरू पनि इतिहासको कालखण्डमा इटालीयन नश्लका इण्डियन एवं अमेरिकीद्वारा नेपाली सनातन सभ्यताको तहसनहसका लागि बनाइएका बुख्याँचाको रुपमा चित्रित हुनुहुनेछ । अस्तु ।