स्वर्गमा बाँदरको रजाइँ 

स्वर्गमा बाँदरको रजाइँ – देवेन्द्र सापकोटा

केही समय अघि मैले “लबस्तरो राजनीति” नामक एक लेख लेखेको थिएँ । मैले त्यो लेख जुन मानसिकता लिएर लेखेको थिएँ । त्यो मानसिकता कर्ण शाक्यको ‘सोच’ नामक गैरआख्यान पढेपछि रहिरहेन । सबै नराम्रै नराम्रा मात्र छैनन् केही दृष्टि सुक्ष्म तवरले हेर्ने हो भने यो २०४६ सालको प्रजातन्त्र पछिको ३०/३२ बर्षमा धेरै प्रगति र देशले फड्को मारेको छ । एक दृष्टिले हेर्दा देशले काँचुली नै फेरेको छ भन्दा पनि अत्युक्ति नहोला ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

हो, हाम्रो देशको राजनीतिक दलहरू केही व्यक्तिगत स्वार्थमा रोमल्लिएका छन् अनि सरकारी क्षेत्रको काममा केवल औपचारिकता मात्र पूरा गरेको स्पष्ट हुन्छ । तर निजी क्षेत्र हेर्ने हो भने सक्रिय नै देखिन्छ । जब ३० बर्ष लामो पञ्चायत पश्चात् आएको प्रजातन्त्रको सुरुवातको स्वास्थ्य अवस्था अर्थात् रुघाखोकीले मर्नु पर्ने अवस्था अहिले रहेन । महादेवले झैँ दक्षप्रजापतिको टाउको च्वाट्ट काटेर बोकाको टाउको जोड्न नसके तापनि एउटाको मुटु अर्कोमा प्रत्यारोपण गरेर मुटु रोग, क्यान्सर जस्ता घातकरोगीलाई पनि सरदर ७३/७४ बर्षको आयु प्रदान गरेको छ । के यो प्रगति होइन र ? हो, भ्रष्टाचारले देश च्वाम्मै खाएको छ तर यति भन्दैमा इमान्दार र कर्तव्यनिष्ठलाई बिर्सन मिल्दैन । त्यस्तै शिक्षा क्षेत्र र सडक बाटोमा पनि प्रगति नभएका होइनन् ।

अहिले वेदका मन्त्र भन्दा ज्यादा घोकिने पाठ देशमा रोजगारको अवस्था नै छैन । तर तिनीहरूलाई के थाहा ? देशमा सिकर्मी छैनन्, डकर्मी छैनन्, आवश्यक कुक र पेन्टर छैनन् । स्वदेशको मर्म बुझ्न नसकेर विदेसिने अनि स्वदेशमा काम गर्दा इज्जत जाने महसुस गरी विदेशमा चाहिँ ट्वाइलेट साफ गर्न पनि नहडबडाउने प्रवृत्तिले भने देश पक्कै खाएको छ । अनि ६० बर्ष हूँ जेलसम्म आलटाल सरकारी जागिर खाने अनि ६० बर्ष पश्चात् भने अमेरिका र युरोप भासिने प्रवृत्तिले राष्ट्रियता पक्कै खाएको छ । तर यति भन्दै गर्दा हामीले जुन देशको परिकल्पनामा दुर्वाक्यहरू प्रस्तुत गरि राखेका छौँ सायद देश त्यति पनि खराब छैन । देशभित्रै प्रशस्त रोजगारी छ केवल खेती किसानी नै गर्नुपर्छ भन्ने होइन आफ्नो इच्छा र ज्ञानले जुन काम ठिक लाग्छ , त्यही काम गरे भयो । कृषि ठिक त कृषि, उद्योग ठिक त उद्योग या अरू ।

केवल तवर्गको पछिल्ला दुई अक्षर मात्र प्रशस्त पार्नु मात्र नेपालीहरूको धर्म होइन र पूर्वजहरूको इतिहासले पनि त्यति मात्र गर्न दिदैन । हाम्रा केही राजनीतिक दलहरू सुध्रीए भने र युवा पुस्ता राजनीतिमा धकेलिए भने देशले फड्को मारेको हेर्न अर्को जन्मको परिकल्पना गरि राख्न पर्दैन । केवल डेढ दुई दशकमै देश अमेरिका सरह समृद्धशाली बन्न सक्छ । अनि विश्वको इतिहासमा मात्र होइन हरेक मानवको जिब्रोमा नेपालकै उदाहरण हुने छ ।अनि गौरवान्वित महसुस गर्नेछन् हरेक नेपालीले । एउटा आत्मविश्वासले क्यान्सर त निको हुन्छ भने किन अब सकारात्मक नसोच्ने । भनिन्छ नि “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार” । ३०/३२ बर्षको प्रगतिलाई आँखा चिम्लन मिल्दैन । तिनै प्रगतिलाई आत्मसाथ गर्दै स्वदेशमै केही गर्छु, जहाँ जन्मे त्यहीँ मर्छु भन्ने मानसिकता भएकालाई स्वर्ग यहीँ छ । अन्यथा स्वर्गमै पुगे पनि आनन्दानुभूति हुँदैन । त्यसैले सकारात्मक सोचको बानी बसालौँ अनि देश समृद्ध र विकासको मार्गमा स्वत: लम्कदै जाने छ ।

नेपालको राष्ट्रिय परियोजनाहरू विदेशी कम्पनीलाई ठेक्का दिएको कुरा त अवगत नै छ । यो त राष्ट्रिय परियोजनाहरू मात्र भयो अझ निजी क्षेत्रमा कति पसे र कति पस्न बाँकी छन् आंकलन तथ्यांक अमुक छ । देश अझै पनि बिग्रीसकेको छैन आशाका प्रज्वलित किरणहरू हजारौं प्रदिप्तमान छन् । तिललाई पहाड बनाउने प्रवृत्ति प्राय:मा पाइन्छ त्यसैले पनि सकारात्मक भन्दा नकारात्मक बढी फस्टाएको छ ।
राम्रा काम नदेख्ने र नराम्रामा मात्र आँखा लाउने प्रवृत्तिले सोच खाएको छ । सक्छौँ नराम्रा कामप्रति घोर विरोध गरौं यदि सक्दैनौं भने राम्रा काम मात्र अनुकरण गरौं ।

२०७८ पुष ६, मंगलवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।