सीपि मैनालीको अनुकरणीय चिन्तन

सीपि मैनालीको अनुकरणीय चिन्तन

उप-प्राध्यापक -श्याम खनाल– लगभग २० दिनको अन्तरालमा देशका तीनवटा पार्टीहरूका महाधिवेशन भए । गत निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भई लगभग साढे तीन वर्ष सरकारमा रही फुटको कारणले सरकारबाट बाहिरिएको नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ केन्द्रीय कमिटि गठन हुने कुरा लगभग पहिले नै निश्चितप्राय भएकोले नेतृत्वमा को आउला भन्ने कुराले नेपालको राजनीतिमा त्यति अर्थ राखेन । तर पनि नेकपा एमालेकै सरकार गिराउनका लागि प्रमुख भूमिका निभाएका उही पार्टीका जिम्मेवार नेताहरूले महाधिवेशनमा देखाएको रमाइलो पनले भने अलिकता भए पनि माहोल तताउन पुगेको थियो ।

त्यस्तै नेकपा एमालेबाटै अलि पहिले फुटेको अर्को सानो पार्टी नेकपा मालेको महाधिवेशन चितवनमा हुँदा सम्बन्धित पार्टीका सदस्य बाहेक जनमानसमा खासै चासोको विषय रहेन । कार्तिक २७ देखि २९ सम्म चलेको महाधिवेशनले पुनः सिपी मैनालीकै नेतृत्वमा नयाँ कमिटि गठन गर्‍यो । तर यो महाधिवेशनले देशको राजनैतिक संरचना सम्बन्धी केही महत्त्वपूर्ण निर्णय भने गरेको थियो । उसले अहिले लगभग असफल अवस्थामा गइसकेको महङ्गो प्रदेश प्रणालीलाई तुरुन्त हटाएर स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न गराउनुपर्ने माग गरी महाधिवेशन टुङ्गाएको थियो । त्यस्तै देशलाई धर्मनिरपेक्षताले धार्मिक युद्धमा लगिरहेको तीतो सत्यतालाई स्वीकार गरी आफ्नो दस्तावेजमा ‘भ्रम, भय र प्रलोभनका आधारमा गरिने धर्मान्तरणलाई निरुत्साहित गरी पौरस्त्य सभ्यता र सनातनी संस्कृतिको गोडमेल र प्रवर्द्धन गरिनेछ भन्ने’ वाक्यलाई महत्त्वका साथ राखेको देखियो । अर्थात् उसले देशका अधिकांश जनताको अभिमतलाई कदर गर्दै राजनीतिक दलले जस्तो गरी सदस्य संख्या बढाउनु भन्दा पनि मानिसलाई जीवन जिउने कलाको बारेमा सिकाउने र विश्वकल्याणको कामना गर्ने वैज्ञानिक वैदिक धर्मको बारेमा केही चिन्ता लिएको देखियो ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

यसैगरी देश गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको एउटा सानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन पनि भरखर काठमाडौँमा सम्पन्न भयो । सानै पार्टीको महाधिवेशन भए पनि यो महाधिवेशनले भने राष्ट्रिय राजनीतिलाई केही दिनसम्म ततायो । अध्यक्ष कमल थापाको नेतृत्वले निरन्तरता पाउन सकेन । युवा जनजाती नेता राजेन्द्र लिङ्गदेनलाई प्रतिनिधिहरूले राप्रपाको अध्यक्षको रुपमा निर्वाचित गरे । राजा र हिन्दू धर्मको नाम बेचेर स्वार्थ लुट्ने मुसो प्रवृत्तिको मानिस भन्ने आरोप खेपिरहेका कमल थापा अध्यक्ष पदमा पराजित हुन पुगे ।

राप्रपाको महाधिवेशनको अरु दिन भन्दा पनि पहिलो दिनको उद्घाटन सत्रमा भने केही रोचक परिदृश्यहरू देखिए । आफ्नो महाधिवेशनको दस्तावेजमा महत्त्वपूर्ण कुराहरू भएता पनि त्यसले जनतालाई खासै प्रभाव नपरेको अवस्थामा नेकपा मालेका महासचिव सीपि मैनालीले राप्रपाको महाधिवेशनको उद्घाटन-सत्रमा बोलेको बोलीले नेपालको राजनीतिमा केही तरङ्ग ल्यायो । देश-विकासमा नयाँपन ल्याएका, जनताको मनमा बस्न सफल राजा महेन्द्रको उनले मञ्चमा खुलेर प्रशंसा गरे । राष्ट्रवादको नयाँ परिभाषा दिए । उनले राष्ट्रवादी ती हुन् जसले ‘राजा, देउता, धर्म, कर्म, परम्परा मानेर राजनीति गर्छ’ भने । त्यस दिनका उनका प्रत्येक शब्द अत्यन्तै महत्त्वपूर्ण रहे । साँच्चै अलिकति देशप्रेमी मानिसले राजा महेन्द्रको उच्च मूल्याङ्कन गर्छ नै । राजा महेन्द्रको स्पष्ट अडान र खरो कुटनीति नभएको भए अहिले हाम्रो देश एकादेशको कथाका रुपमा रहन्थ्यो नै । यो कुरा इतिहासबाट थाहा हुन्छ । भनिन्छ एकपटक भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपाललाई भारतमा गाभी महेन्द्रलाई नै राजा मान्ने प्रस्ताव गरे रे । अनि राजा महेन्द्रले पनि जवाहरलालको प्रस्तावलाई अत्यन्तै कुटनीतिक तरिकाले प्रतिकार गरेछन् । राजाले त्यो बेलामा जवाहरलाललाई हजूरको प्रस्ताव अत्यन्तै राम्रो र स्वीकार्य छ तर यसमा मेरो एउटा शर्त छ, त्यो के भने देशको नाम चाहिँ भारत होइन नेपाल नै हुनुपर्छ । राजाको यस्तो चतुर वचन सुनेर जवाहरलाल कालो नीलो भइ चुप लागेछन् । देशको सीमाना रक्षाका लागि पहाडका वासिन्दालाई तराईमा बसाउनेदेखि नेपालमा बसेका भारतीय सेनालाई नेपालबाट सौहाद्रपूर्ण ढङ्गले उनीहरूकै देशमा फर्काउने काम एवं देश-विकासको लहरका परियोजना आदि कुराको लागि राजा महेन्द्रलाई प्रत्येक नेपालीले कहिल्यै भुल्न सक्दैनन् । देशमा केही अराजक गतिविधि मच्चाई आफ्नो स्वार्थ पुरा गर्न लागिपरेकाहरूले उनलाई प्रजातन्त्र मास्नेको रुपमा परिभाषित गर्न खोजे पनि उनले वास्तवमा प्रजातन्त्र मासेका थिएनन् । दलहरूको लडाई झगडाले देशको अखण्डतामा नै विदेशी हस्तक्षेप बढेकोले दलविहिन प्रजातन्त्रको नयाँ मोडेल ल्याएका थिए ।

त्यस्तै त्यो महाधिवेशनको उद्घाटन सत्रमा सीपि मैनालीले माओवादी युद्धले ल्याएको विदेशी हस्तक्षेपको खुलेर विरोध गरे । माओवादीलाई विदेशीहरूले भिराइदिएको नागरिकता विधेयक, धर्मनिरपेक्षता र प्रदेशरुपी भारी नै देशमा भइरहेको अराजकताको कारण हो भन्ने उनको भाषणको निचोड देखियो । तर त्यही महाधिवेशनमा अतिथिको रुपमा बोलाइएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिपि मैनालीको महत्त्वपूर्ण भाषणलाई हावामा उडाइदिए । सिपिलाई राप्रपाको अध्यक्षको रुपमा प्रस्तुत गरे । प्रचण्डको हस्याङ्फस्याङ् देख्दा सीपिले लगाएको आरोपमा सत्यता रहेछ भन्ने देखियो । नेपालको परिवेशमा माओवादी आन्दोलनले अन्यायमा परेका जनतालाई आफ्नो अधिकार प्राप्तिको लागि केही चेतना फैलाउने काम पक्कै गरेको हो तर अधिकार प्राप्तिका नाममा अर्काको अधिकार हनन गराउने काम पनि अवश्य गरेकै हो ।

त्यसैले नेपालका प्रत्येक पार्टीहरूले आफ्नो पार्टीभन्दा ठूलो देश हो भन्ने दृढ धारणाका साथ राजनीति गरुन् । यो देशमा बुद्ध र सीताभन्दा ठूला मार्क्स र लेनिन होइनन् भन्ने बुझुन् । माओको गुणगान गाएर पृथ्वीनारायण शाहलाई गाली गर्नेहरू कदापी राष्ट्रवादी हुन सक्दैनन् भन्ने रवीन्द्र मिश्रको अत्यन्तै महत्त्वपूर्ण कुरालाई पनि जनताले राम्ररी बुझुन् । देशका जनतालाई कुनै विदेशी वादभन्दा पनि नेपालकै हावापानी सुहाउँदो राष्ट्रवाद प्यारो छ । देशमा विकासको लहर कुनै विदेशीका एजेन्डा बोक्दैमा आउने होइन । तराइको धोती र पहाडको टोपीलाई विस्थापित गरी सुट, टाइ लाउँदैमा क्रान्तिले फड्को मारेको सम्झनेहरू देशमास्ने धमिराहरू हुन् । त्यसैले सानो अवस्थादेखि नै विदेशी वादहरूमा अल्झाइएका, नास्तिकताको नाममा यहाँको धर्म, संस्कार र संस्कृति प्रति सधै विषवमन गर्न सिकाइएका सिपि मैनाली आदि नेताहरूमा आएको राष्ट्रवाद, स्वधर्म र स्वसंस्कृति प्रतिको चेतनाको सम्पूर्ण जनमानसले कदर गर्दै आ-आफ्ना पार्टीका मुखियाहरूलाई पनि सिपि मैनालीको विचारलाई अनुसरण गरी राजनीति गर्न प्रेरित गरौँ । अस्तु ।

२०७८ मंसिर २३, बिहीबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।