लबस्तरो राजनीति
यो कथा कुनै साहित्यकारले लेखेको कथा हैन न त पत्रकारको नै सङ्कलित सूचना हो । धेरै समय अघिबाट मनको घाउलाई बारम्बार बिथोलिदिएको कथा हो । यो कथा केवल स्वप्न र कल्पना मात्र रहन्छ कि भन्ने भयले घरिघरि तर्साउँछ तर फेरि मनलाई सम्हाल्छु अनि केही ओठमा कृत्रिम हाँसो पैदा हुन्छ । खैर, यो कुरा छोडौँ । सिधै विषय वस्तुतिर जाऊँ, लबस्तरो राजनीति ।
कहिलेकाहीँ निदाउनु भन्दा अघि सोच्ने गर्छु–
कास हाम्रो देशमा पनि केवल एक पटक मात्र निमुखा जनताको लागि शासन भईदिएको भए । पञ्चायत हट्यो, राजतन्त्र हट्यो, प्रजातन्त्र आयो, गणतन्त्र आयो तर परिवर्तन के भयो त? केवल पञ्चायत हटेको मात्र हो , विचार परिवर्तन भएको त छैन नि? कता कता चिया पसलतिर भनेको सुन्छु ” एउटा राजा त हट्यो तर त्यस्ता सयौँ राजा उत्पन्न भयो ।” यो कुरामा कहिलेकाहीँ गढेर सोच्छु । साँच्चै यथार्थवाद छ कि भन्ने भान हुन्छ । म यसमा विश्वस्त छु कि एकपटक ढलेको शासन पुनः खडा हुन सक्दैन, तर के थाहा? नेपालको राजनीति हो, गोरु त ब्याउँछ यहाँ भने राजा आउनु कुन चाहिँ ठूलो कुरा हो र?
ज्योतिषीका भविष्यवाणी पनि नसुनेका हैनौँ हामीले । मेरो मतलब गणतन्त्र भन्दा उत्तम राजतन्त्र भन्न खोजेको हैन । बस्, जनमुखी गणतन्त्र होस् मात्र भन्न खोजेको हो ।
शिक्षकदेखि विद्यार्थीसम्म, कर्मचारी देखि गोठालासम्म, विद्वानदेखि अनपढसम्म, शिशुदेखि प्रौढसम्म अनि गृहस्थीदेखि जोगीसम्म सबका सब कुनै न कुनै राजनीति दलमा भिजेकै छन् । कार्यालयदेखि घरसम्म अनि पाँचतारेदेखि फुटपातसम्म केवल राजनीतिकै चर्चा परिचर्चा हुन्छ । एमालेका समर्थक माकुने विरोधी, प्रचण्ड विरोधी, अनि नेकपा एसका समर्थक एमाले विरोधी । एकले अर्कालाई भए नभएको दोषारोपण गर्नु बाहेक यिनीहरूको काम के नै छ र? समीक्षा गरौँ, भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली जसको पार्टी एमाले हो । तीन वर्षभन्दा बढीको समयमा सरकारले के गर्यो त? २१० वटा सडक र ३९६ वटा अस्पताल एकैपटक शिलान्यास भए । वा! यो त बडो गज्जबको कुरा हो तर भाषणका लागि मात्र केवल भाषणका लागि मात्र । शिलान्यास त भयो तर बजेट विनियोजन खै? केवल चर्चा कमाउन यो सब गरिएको थियो भन्दा अत्युक्ति नहोला । रेल त मज्जाले आयो थाहा पाइसक्नु भयो होला? एमालेको घोषणा पत्रमा के भनिएको थियो भने – “नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्यकर्मी गाउँ गाउँमा खटाउने ।” अहिले सम्मको अवस्थामा ७५३ वटा स्थानीय तहहरू मध्ये कुन चाहिँ स्वास्थ्य चौकीमा MBBS होल्डर डाक्टर खटाइएको छ?
०७७/०७८ सालमा मात्र १५ करोड ४८ लाख त तासबाट राजस्व मात्र सङ्कलन भएको छ । हुन त स्वभाविकै पनि हो किनभने प्रधानन्यायाधीश जस्तो सम्माननीय पदमा रहेका चोलेन्द्र समसेर जबराले भनेका छन्- “म्यारीज कुनै हानमारको खेल नभई बौद्धिक खेल हो ।” पहिले सुशीला कार्की विवादमा आउने बित्तिकै महाअभियोग लाउन तम्सिने ती नेताहरु कता गएर सुते बालुवाटार कि सिंहदरबार? हुन पनि किन लाउँथे त? सम्माननीय प्रधानन्त्री देउवाज्यूकै ३३ किलो सुन काण्ड, सभामुख अग्नि प्र. सापकोटा, कांग्रेसका विजयकुमार गच्छदार, नेकपा एसका माकुने, जसपाका डा. बाबुराम भट्टराईहरूको जग्गा प्रकरण, सभामुखको त्यति मात्र नभएर हत्या अभियोगको फाइल अझै पेन्डिङमै छ । महाअभियोग लगाइयो भने त पर्दाफास हुने भयो त? अनि कुन मुखले चाहिँ महाअभियोग लगाउँछ त? आनन्दले राजीनामा दिन्न भनेर बसे कसले लगाउने महाअभियोग ?
हामीले थुकेको हुँ केपी ओली(एमाले), प्रचण्ड(माओवादी), देउवा(कांग्रेस), माकुने(नेकपा एस) हैन? यिनैसँग हैन हार खाएको? अब यसो सोच्नु त अर्को चुनावमा यो चार बाहेक अरु कुन चाहिँ विकल्प छ हामीसँग? केवल दोषी नेता मात्रै हैन, तपाईँ र म पनि हौं दोषी । च्याङ्ग्रा र पेट्रोलकै भरमा कति भोट खसाईयो । बरु नेकपा एसमा लागेकै कारण छोरा पनि नेकपा एसमा लाग्ने अनि छोरा एमालेमा लागेकै कारण एमाले समर्थन गर्ने बाउ भएर कति मत उल्ट्याईयो । कति मत पत्र च्यातियो । कहिल्यै हिसाब किताब गरेका छौँ हामीले? सायद, कहिले पनि योग्य र इमान्दार मन्त्री नपाइने भइयो । मेकानिकल इन्जिनियर सामान्य प्रशासन मन्त्री, अर्थविद् कृषि मन्त्री, कृषिविद् स्वास्थ्यमन्त्री अनि त्यही स्वास्थ्य मन्त्री फेरि सहरी मन्त्री । यही हैन अहिलेको राजनीति? सायद, यो भाग्यमा नै लेखेको छैन होला , योग्य र इमान्दार मन्त्री देख्न ।
हिजो, अस्तिको मात्र घटना हो । एमाले महाधिवेशन चलिरहेको थियो । बीचमा एम्बुलेन्स थियो । त्यो एम्बुलेन्स भीडका कारण न त अघि बढ्न सकेको थियो न त पछि हट्न नै । भीडका कारण भित्रको विरामी निसास्सिएर हुटमा ल्याई तातो पानी ख्वाउनु र हातखुट्टा माड्नु भन्दा अर्को कुनै विकल्प थिएन । त्यो महाधिवेशनमा ५/६ लाख त मानिस थिए रे । नेता देखि प्रहरी सम्म थिए तर कसैले पनि वास्ता गरेनन्, सबका सब ओलीकै भाषणमा मख्ख थिए, टुक्का साथमा । यो हो राजनीति ।
देउवा सरकार MCC ल्याउन तल्लिन छ । जनता सबका सब MCC को विरोधमा लागि रहेका छन् । तैपनि एमसीसी ल्याउँछु भन्न छाड्दैनन् । त्यो नाथे ६० अर्ब त केही काला कोटे गोजी टक्टक्याउने हो भने वा नेताको गोजी टक्टक्याउने हो भने झर्छ । केवल White Money नभएर मात्र हो नत्र भने विल गेट्सले फ्लप खाई सक्ने थिए । मेरो ख्यालमा यो लबस्तरो राजनीतिमा नयाँ जङ्गे जन्मनु पर्छ जसले फेरि कोत पर्व दोहोर्याउन सकोस्, उल्ट्याउन सकोस् । समस्त राजनीति प्रणाली नत्र भने भत्कन्छन्, भत्केका बिग्रिन्छन् र बिग्रेका विलुप्त भएर जान्छन् । अब जागौँ र उठौँ यो पाखण्डी राजनीतिका इकु पात्रका कथा समाप्त पार्न ।
– देवेन्द्र सापकोटा