देवघाटधामबाट एमालेको महाधिवेशनलाई सन्देश – उप-प्राध्यापक श्याम खनाल
२०७८ मंसिर १० गते विहान देवघाटधाममा मानिसहरूको बाक्लो उपस्थिति देखियो । कुनै पर्वहरू विना नै यति धेरै उपस्थितिको कारण भनेको त्यसै दिन दिउस नारायणघाटमा हुने नेकपा एमालेको दशौँ महाधिवेशन रहेछ । केही कार्यकर्ताहरू अघिल्लै दिन आश्रमहरूमा आएर बसेका रहेछन् भने केही १० गते विहानदेखि आइरहेका रहेछन् । गलेश्वर आश्रमको शिवालय नजिकै एमालेको ब्यानर बोकेका कार्यकर्ताहरू भजन किर्तन गर्दै नाचगानमा व्यस्त थिए । अधिकांश काठमाडौैँतिरबाट आएका हुनाले नारायण हरि हरि बोलको भजन गाउँदै उनीहरू रमाएका थिए । यस खालको उपस्थिति एमाले सरकारमा हुँदा पनि भएको थियो । त्यो बेला राम सीताका मूर्तिलाई माडीमा लैजाने क्रममा देवघाटधाममा यस्तो अवस्था देखिएको थियो । देवघाट आउन नसकेका कार्यकर्ताहरू पनि नारायणी नदीमा चीसोको प्रवाह नगरी स्नान गरेका देखिए । नुहाउन नसक्नेले पनि गङ्गाजी प्रति श्रद्धा प्रकट गरेको देखियो ।
यी घटनाहरूले के कुराको जानकारी गराउँछ भने नेताहरूले नेपालमा जुनसुकै वादको प्रचार प्रसार गरेता पनि नेपाली जनतालाई आफ्नो धर्म, संस्कार र संस्कृति अत्यन्तै प्यारो छ । आफ्ना नेताहरूले धर्मलाई अफिमको रुपमा परिभाषा गरे पनि त्यो कुराको कार्यकर्ताहरूमा कुनै प्रभाव देखिएन । “कार्ल माक्र्सले इशाइ पादरीहरुले गरेको ज्यादती देखेर त्यसरी धर्मलाई अफिमको रुपमा व्याख्या गरेका थिए । उनी थोरै मात्र वैदिक सभ्यतासँग परिचित भएका भए उनको दर्शन सायद मानिसहरुको गास, वास र कपासमा मात्र सीमित नभएर मानवलाई महामानव बनाउनेतर्फ केन्द्रित रहन्थ्यो । त्यसैले तत्कालीन अवस्थामा इशाइ धर्मका नाममा भइरहेको व्यापार देखेर धर्मरहित अनुशाषित समाजको कल्पना माक्र्सले गरेका हुन्” भन्ने सत्यतालाई कार्यकर्ताहरूले राम्रोसँग बुझेको देखियो । यस अर्थमा सर्वे भवन्तु सुखिनः सिद्धान्तको हाम्रो वैदिक धर्मले व्यक्ति र समाजको भौतिक विकासका लागि कुनै अवरोध गर्दैन भन्ने कुरामा उनीहरू कटिबद्ध देखिए ।
धर्मनिरपेक्षताका नाममा भइरहेको धर्मान्तरणले देश बर्बादीतर्फ जाँदैछ भन्ने प्रत्येक नेपालीले महसुस गरिरहेका छन् । विश्वशान्तिको कामना गर्ने वैदिक धर्मको उद्गमस्थल यो देशलाई कुनै किसिमका प्रचारात्मक रिलिजनहरूको आवश्यकता छैैन । हामीलाई हाम्रा बुबा र आमाको माया छ । हामी अरुकी आमालाई पनि आमा भनेर सम्मान त अवश्य गर्न सक्छौँ तर सुख–सयलको लोभमा आफ्नी दुःखी आमालाई लात हानेर अर्काकी आमाको घरमा जाने संस्कार सच्चा नेपाली कसैको पनि छैन ।
नेपालमा लोकतन्त्र नामको आन्दोलनपछि प्राप्त विष हो धर्मनिरपेक्षता । पहिले धर्मनिरपेक्षता भनेको सबै धर्मलाई बराबर मान्नु हो भनेर जनताका आँखामा छारो हाल्ने काम भयो । तर यो १४ वर्ष सम्मको अवस्था देख्दा धर्मनिरपेक्षता भनेको यहाँ हिन्दू धर्माबलम्बीहरूलाई अनेक प्रलोभन र डरत्रास देखाई धर्मान्तरण गराउने हो भन्ने कुराको ज्ञान सर्वसाधारणलाई समेत भइसक्यो ।
यहाँ भएका सशस्त्र युद्धहरूले पनि धर्मान्तरणलाई सजिलो बनाइदिएका रहेछन् । रोल्पा, रुकुम, गोरखा आदि जिल्लाहरूमा विद्यालय, बाटो-घाटोको विकास नभएर चर्चहरूको राम्रो विकास भएको बाक्लै देख्न सकिन्छ । हाम्रो राष्ट्रिय पोशाकलाई असभ्य ठानी घाँटीमा टाई झुण्ड्याएर आफूलाई आधुनिक कहलाउने रागीहरू सडक, सदन र सरकारमा छ्याप्छ्याप्ती छन् । धर्मान्तरणका योजनाकारहरू के.बी. रोकाया र नरेन्द्रजङ्घ पिटरहरू केन्द्रीय सदस्य भएका पार्टीहरूका उद्देश्य के हुन् भन्ने कुरा छर्लङ्ग भइसकेकोे छ । भरखर मात्र चितवनमा सामान्य व्यक्तिगत कलहबाट भएको घटनालाई जातियताको नारा दिई मिलेर बसेको समाजलाई भाँड्न पूर्वप्रधानमन्त्री समेत भइसकेका व्यक्ति एवं माओवादी पार्टीका सदस्य क्रिश्चियन धर्माबलम्बीबाट आफ्नो फेसबुक र ट्विटर मार्फत् फैलाइएको वैदिक धर्मप्रतिको अफवाहले उनीहरूको नेपालप्रतिको उद्देश्य छर्लङ्ग भइसकेको छ । त्यस्तै अर्को कम्युनिष्ट पार्टी जनमोर्चा पनि देश धर्मयुद्धमा जान थाल्दा पनि कार्यकर्ताको भावना विपरीत धर्मनिरपेक्ष–धर्मनिरपेक्ष भनेर कुर्लिरहेकाले उनीहरूको उद्देश्य पनि अरु कम्युनिष्ट पार्टीको जस्तै देखिन आएको छ ।
यी उदाहरणहरूले कार्ल माक्र्सद्वारा इशाइ पादरीहरूबाट प्रताडित समाजको सुधारको लागि कल्पना गरिएको धर्मविहिन समाजको कल्पनालाई नेपाल लगाएत विश्वका इशाइ मिसिनरी र कम्युनिष्ट नामधारीहरुले माक्र्सको मूल विचारलाई बङ्गाई विश्वका अधिकांश देशको धर्म, संस्कार र संस्कृति नष्ट गर्नको लागि प्रयोग गरेको कुरा प्रमाणित भएको छ । ती देशमा पहिले कम्युनिजमको बिउ रोपी त्यहाँका मानिसलाई नास्तिक बनाइँदो रहेछ । अनि आँखा चिम्लन लगाई क्रिश्चियन बनाइँदो रहेछ । यो कुराको पुष्टि अब गरिराख्नुपर्दैन । नेपाल त्यही भूमरिबाट प्रताडित छ ।
यसैले नेपालको प्रमुख पार्टि नेकपा एमालेले साँच्चै देश र जनताको नाममा राजनीति गर्ने हो भने यस्ता सबै तत्त्वहरूलाई परास्त गर्ने खालको नीतिको अबलम्बन गर्नुपर्छ । यहाँको वैदिक धर्मले कसैलाई विगार्ने काम गरेको छैन । हुनसक्छ आफ्नो अभीष्ट सिद्ध गर्न कुनै समयमा राणा‚ राजा एवं राजनैतिक दलहरूले वैदिक धर्मलाई वैशाखी बनाएर आफ्नो अभीष्ट पुरा गर्न यसको बदनाम गराएका हुन सक्छन् । तर यसको रक्षाको चिन्तन नगर्ने उनीहरूलाई यसले पनि रक्षा गरेन नै । त्यसैले कार्यकर्ताहरूको विचारको पनि कदर गर्दै नेकपा एमालेले पनि आफ्नो पार्र्टीको विधान मै यहाँको मौलिक धर्म, संस्कार र संस्कृतिको रक्षाको लागि केही बोल्नुपर्ने अवस्था आएको छ । मानिसहरू आस्तिक वा नास्तिक जे होउन् त्यो उनीहरूको कुरा हो । तर नास्तिकताका नाममा “जति जिउँछौ सुखले जिऊ, ऋण गरेर भए पनि, लुटेर भए पनि मीठो मीठो खाऊ, ऋण तिर्न नसके पनि केही हुनेवाला छैैन, किनकि धर्म, अधर्म भन्ने यी सबै काल्पनिक कुरा हुन् ।” भन्ने खालको अराजक कुरा फैलाउने तत्त्वहरूदेखि सावधानी अपनाउनु परेको छ । वाम र राम विपरीतार्थक शब्द होइनन् । कुनै पनि कम्युनिष्ट व्यक्ति देशको धर्म‚ संस्कार प्रति वफादार रह्यो भने एवं त्यस सम्बन्धी कुरा गर्योे भने त्यसलाई वामपन्थीबाट विचलित भएर रामपन्थी भएको भनेर वदनाम गराउने तत्त्वलाई परास्त गर्ने जिम्मा अब एमालेले लिनुपर्ने अवस्था आएको छ । कम्युनिष्टका नाममा होली वाइनको वकालत गर्ने, देश विकासको तगारोको रुपमा यहाँको धार्मिक समुदायलाई देख्ने एवं दशै, तिहारलाई सामन्तवादका पर्व भनी बकर इद र क्रिसमस मनाउने झुण्ड एमालेबाट बाहिरिई सकेकोले अबको एमालेले वैदिक धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै देशसेवा गर्नुपर्ने अभिभारालाई वहन गर्नुपर्ने अवस्था आएको छ ।
यस किसिमको बहुमत जनभावनालाई नबुझीकन जसरी भारतमा सोनिया गान्धीले मन्दिर गएजस्तो गरी क्रिश्चियनालिटी फैलाएकाले जनताले कहिले नउठ्ने गरी तिरस्कार गरे, त्यस्तै अवस्था नेपालमा एमालेको नआओस् । केपी ओलीले नारायणी किनारमा फुकेको गायत्री मन्त्र एवं रामबहादुर थापाका धार्मिक शब्द, धार्मिक जनता झुक्क्याउने माध्यम नबनुन् । पुनः देशको धर्म, संस्कार र संस्कृति सुहाउँदो नीति निर्माणका लागि आफ्नो दशौँ महाधिवेशनले केही ऐतिहासिक निर्णय लेओस्‚ हार्दिक शुभकामना छ ।
आफूलाई समाजवादको हिमायती ठान्ने नेपाली काङ्ग्रेसलाई त यस्ता खालका सुझावको आवश्यकता नै देखिएन किनकी यसपटकका काङ्ग्रेसका प्रतिनिधि देख्दा लाग्छ– कि त काङ्ग्रेस धर्मकोे मामिलामा स्पष्ट हुनेछ, कि त प्रतिनिधि काङ्ग्रेसको मामिलामा स्पष्ट हुनेछन् । अस्तु ।