विश्वघस्र पक्ष भनेको के हो ? २०७८ भाद्र २३ देखि आश्विन ४ सम्मको विश्वघस्र पक्षका सम्बन्धमा – उप-प्रा. श्याम खनाल

आज मितिः-२०७८ भाद्र २३ देखि आश्विन ४ सम्मको विश्वघस्र पक्षका सम्बन्धमा
– उप-प्रा. श्याम खनाल

विश्वघस्र पक्ष भनेको के हो ? (For share only not to copy paste)

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

हामीले व्यवहारमा सौरमास र चान्द्रमासको प्रयोग गर्ने गरेका छौँ । एउटा सङ्क्रान्तिदे‍खि अर्को सङ्क्रान्ति सम्मको दिनको समूहलाई सौरमास भनिन्छ भने एक औँसीदेखि अर्को औँसीसम्मको वा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्मको तिथिहरूको समूहलाई चान्द्रमास भनिन्छ । हामीले चलाएको सौरमासका दिनहरू जसलाई हामी गते भन्दछौँ ती कहिले पनि क्षय भएका अर्थात् टुटेका हामीले देखेका छैनौँ किनभने ती गतेहरू एउटा सूर्योदयदेखि अर्को सूर्योदयसम्म रहन्छन् । अर्थात् गतेको मान २४ घण्टाको हुन्छ । त्यसैले हामीले कहिले पनि ४ गतेपछि ६ गते आएको देख्दैनौँ । सधैँ ४ गतेपछि ५ गते नै आउँछ । तर तिथिहरू त्यस्तो गतेजस्तो ट्याक्क एउटा सूर्योदयदेखि अर्को सूर्योदयसम्म हुँदैनन् । यिनीहरूको मापनको तरीका फरक हुन्छ । सूर्य र चन्द्रको गतिको अन्तरसँग यिनीहरूको सम्बन्ध हुन्छ । त्यसैले यिनीहरूको सुरुवात र अन्त्य २४ घण्टा भित्रको जुनसुकै समयमा पनि हुन सक्दछ । यिनीहरू गतेजस्तै ट्याक्क २४ घण्टाका पनि हुँदैनन् । घटबढ भइरहन्छन् । हामीले प्रयोग गर्ने पञ्चाङ्ग (पात्रा) हरूमा हामीले कहिलेकाहिँ तिथि क्षय भएको अर्थात् तृतीया तिथिपछि चतुर्थी नआइकन पञ्चमी तिथि आएको पनि देख्छौँ र कहिलेकाहिँ तृतीया तिथि दुई दिनसम्म भएको पनि देख्दछौँ । यस्तो तिथिको घटबढ चान्द्रमास भित्रका जुनसुकै तिथिमा पनि हुन सक्दछ । तिथि क्षय हुने भनेको तिथि पात्रोबाट गायब नै हुने भन्ने चाहिँ होइन । यो तिथिक्षय भनेको त्यो तिथि सूर्योदयकालमा नहुनु हो भन्ने हो । अर्थात् अघिल्लो वा पछिल्लो कुनै पनि दिनको सूर्योदयलाई तिथिले छोएन भने त्यसलाई हामी व्यवहारमा तिथिक्षय भन्दछौँ । यो नियम नक्षत्र र योगमा पनि लागू हुन्छ।

एक चान्द्रमासमा, १५ तिथि कृष्णपक्ष र १५ तिथि शुक्लपक्ष गरी दुईवटा पक्ष हुन्छन् । यी पक्षमा धेरै जसो एउटा तिथिक्षय चाहिँ भइरहेको हुन्छ । तर कुनै पनि पक्षमा दुईवटा तिथि क्षय भए भने त्यो पक्षलाई विश्वघस्रपक्ष भनिन्छ । यस्तो अवस्थामा १५ वा १४ सावनदिनमा समेटिने चान्द्रमासको शुक्ल वा कृष्णपक्ष १३ दिनमै पुरा भएको हुन्छ । यसका सम्बन्धमा ज्योतिर्निबन्धकारले यस्तो लेखेका छन्-

पक्षस्य मध्ये द्वितिथी पतेतां तदा भवेद्रौरवकालयोगः ।
पक्षे विनष्टे सकलं विनष्टमित्याहुराचार्यवराः समस्ताः ।।

अर्थात् कुनै एक पक्ष‍‍मा दुईवटा तिथि क्षय भए भने रौरवकाल नामको नराम्रो योग हुन्छ । यस्तो नराम्रो योग भएमा अतिवृष्टि, अनावृष्टि, राज्यसत्ता परिवर्तन, नराम्रा रोगहरूको प्रकोप आदिको डर एवं सबैतिर नराम्रो हुने त्रास वर्षैभरी रहन्छ भनिएको छ । गुरु-शुक्र अस्त भएको बेलामा वर्जित जस्तै- विवाहादि माङ्गलिक कार्य, व्रतारम्भ, उद्यापन, घरजग्गा किनबेच, गृहप्रवेश, सन्न्यास, रत्न, आभूषणहरूको धारण आदि शुभकर्म यो विश्वघस्र पक्षको समयमा वर्जित गरिएको छ । यसलाई मुहूर्तचिन्तामणिका रचयिता रामदैवज्ञले यसरी लेखेका छन्-

अस्ते वर्ज्यं सिंहनक्रस्थजीवे वर्ज्यं केचिद्वक्रगे चातिचारे ।
गुर्वादित्ये विश्वघस्रेऽपि पक्षे प्रोच‍ुस्तद्वद्दन्तरत्नादिभूषाम् ।।

यस्तो खालको योग यही २०७८ साल भदौ २३ गतेदेखि आश्विन ४ गतेसम्म परेको छ । केही समयको अन्तरालमा पर्ने यस्तो योग महाभारत युद्धको अगाडि पनि परेको थियो । यो योगको पूर्वफल संसारभरि नै देखिएको छ । कोरोना रोगको महामारी, विश्वका नेपाल, अफगानिस्तान आदि धे‍रै देशमा भएको सरकार परिवर्तन, राजनैतिक द्वन्द्व, नेपालमा आएको प्राकृतिक प्रकोप आदि यसको प्रभावका केही उदाहरणहरू मात्र हुन् । यो योगको अरु प्रभाव कति देखिन्छ त्यो भविष्यको नै कुरा हो ।

एम्. सी. सी. का कुरा, त्यसले तताएको राजनैतिक गरमागरम, भरखर सत्तामा आएका तालिवानहरू, भारतमा भइरहेका अकारण आन्दोलन, अतिवृष्टि, यी सबैले गर्दा पनि यो योगमा केही सतर्क हुनुपर्ने अवस्था आएको छ । यो अवस्थामा फेरी कालसर्प जस्तै योगको डर देखाई द्रव्यार्जन गर्नेहरूको विगविगी चल्न सक्तछ । त्यस्ता मानिसहरूले फेरी हामीलाई अर्को विश्वघस्रको योग बनाइदिइ व्यापार गर्न सक्छन् । यस्ता खालका योग कुनै कसैले खानलाई बनाएका होइनन् । यी त गणितीय आधारका कुराहरू हुन् । शास्त्रले बताएअनुसारका कर्ममा लाग्नु हाम्रो धर्म हो न कि नौटङ्की आवाहरूको पछि । त्यसैले ज्योतिषीय योग एवं प्राकृतिक दोहनले निम्ताएका यस्ता प्रकोपबाट बच्न प्रकृतिसँग प्रकृति कै नियमअनुसार चल्ने प्रण गरौँ । प्रकृतिको नियम नै ईश्वरीय नियम हो । जसरी बाटोमा यात्रा गर्दा ट्राफिक सिग्नलले हामीलाई यात्राको मार्गदर्शन गराइराखेका हुन्छन् त्यसरी नै शास्त्रले पनि हामीलाई यो जीवनरुपी महायात्राको क्रममा सतर्क गराएका हुन् । त्यसैले सतर्कता अपनाउने काम हामीहरूकै हो । अस्तु ।

२०७८ भाद्र २४, बिहीबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।