धर्मनिरपेक्षताको अगुल्टो
श्याम खनाल- उप-प्राध्यापक (नेसंवि)
विश्वमा क्रिश्चियनीकरणको लागि बनाइएको शब्द हो धर्मनिरपेक्षता अर्थात् Secularism. यसका प्रयायवाची शब्दहरू Irreligion, Godlessness, Animalism, आदि हुन् । धर्म भनेको त्यस्तो अनुशासन हो जसले मान्छेलाई पशु बन्नबाट रोकी मानव बन्न सिकाउँछ । त्यसैले नीतिले भन्छ- धर्मेण हीनाः पशुभिः समानाः । आखिरी पश्चिमाहरूले पनि निरपेक्षको अर्थ Animalism नै भनेका छन् ।
हामीले विश्वका जुनसुकै देशमा हेर्यौं भने त्यहाँ पहिले कम्युनिज्मको विउ रोपी कम्युनिस्टको मूल विचारलाई दुरुपयोग गरी त्यहाँका मानिसलाई नास्तिकका नाममा क्रिश्चियन बनाइँदो रहेछ । नेपाल यसको पछिल्लो उदाहरण हो भने भारतका पश्चिम वंगाल, केरला, नागल्यैण्ड आदि प्रदेशहरू पनि यसका ज्वलन्त उदाहरणहरू हुन् । नेपालमा विशेष गरेर यो धर्मनिरपेक्षताको अगुल्टो २०६२-२०६३ को आन्दोलन पछि नै आगोको रुपमा परिणत भएको हो । नेपालमा माओवादी आन्दोलनपछि भएको सबैभन्दा ठूलो विकास भनेकै चर्चहरूको निर्माण हो । माओवादी युद्धकालका सबैभन्दा प्रभावित जिल्लाहरू रोल्पा रुकुम जाजरकोट गोरखा सिन्धुली आदि जिल्लाहरूमा भ्रमण गर्ने जुनसुकै व्यक्तिले पनि यो कुराको प्रत्यक्ष अनुभव गर्न सक्छन् ।
नेपालका नेताहरूका मुखबाट प्राय निस्कने शब्द हो धर्मनिरपेक्षता । उनीहरूको व्यवहारबाट वैदिक सनातन धर्मको विरोध गरी वकर ईद र क्रिसमस मनाउनु नै धर्मनिरपेक्षता रहेछ भन्ने कुरा सर्वधारणले पनि लगभग बुझिसकेको अवस्था छ ।
बाबुराम भट्टराईको योगी आदित्यनाथ विरुद्धको ट्विट यसको पछिल्लो उदाहरण हो भने माधव नेपालले म कम्युनिष्ट भएकोले रक्षाबन्धन बाँध्दिन भन्दै चर्चमा गएर नवईशाइहरूको हकहितको लागि लड्ने म एक्लो व्यक्ति हुम् भनेको भिडियो रघुजी पन्तको पशुपतिनाथ विरुद्धको अभिव्यक्ति सुरेन्द्र पाण्डेको चर्चनिर्माणको शिलान्यास कार्यक्रम कृष्ण सिटौलाको र सुभास नेम्वाङ्गको देशलाई धर्मनिरपेक्ष बनाउँदाको चलखेल प्रचण्डको धर्मनिरपेक्षप्रतिको वफादारिता यसका स-प्रमाण उदाहरणहरू हुन् ।
धर्मनिरपेक्षतामा देश गइसकेपछि एकातिर यहाँ पैसाको खेलद्वारा दिनप्रतिदिन मानिसहरूलाई इसाई बनाइँदैछ भने अर्कोतिर मधेशमा नागरिकताका नाममा त्यहाँका पुराना रैथानेहरूलाई नागरिकता नदिई पाकिस्तान वंगलादेश र वर्माबाट जनसंख्या वृद्धिका लागि पठाइएका मुसलमानहरूलाई हाक्काहाक्की नागरिकता प्रदान गरिएको छ । धर्मनिरपेक्षताको कारण देश कति दल-दलमा फसेको छ भन्ने कुरा घर-घरमा बाइबल बाँड्न आएर आतङ्क फैलाउनेहरूलाई देखेपछि सामान्य मानिसले पनि अनुमान लगाउन सक्छ ।
धर्मनिरपेक्षताको फाइदा उठाएर अरू रिलिजनहरूले त अप्ठ्यारो पारेकै छन् । अझ त्योभन्दा बढी अप्ठ्यारो त हिन्दू धर्म संस्कार वेठिक हुन् भनी अन्धप्रचारवाजी गर्ने रामपाल रामरहीम आदि परनामी हिन्दु धर्मभित्रकै धमिराले पारिरहेका छन् । आर्यसमाजका नाममा अतिवादी स्वामी अग्निवेशका चेलाहरूले पनि हाम्रो धर्म र संस्कारप्रति कसरी हुन्छ खेदो खन्ने काम नै गरिरहेका छन् ।
हिन्दु धर्म दर्शनले त्यो अरू रिलिजनहरूले जस्तो दलका सदस्यता वितरण गरे जस्तो नौटङ्की गर्न जान्दैन । यसले त “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत् ।।” भन्छ । यसले कतै पनि कहिले पनि हिन्दू मात्र सुखी होउन्¸ अरु धर्मका दुःखी होउन् भनेको छैन । त्यसैले वैदिक सनातन हिन्दु धर्म सबैको साझा हो । यो धर्मको लक्ष्य ब्रह्मप्राप्ति नै हो । बुद्धले भन्छन्- “बहुजनहिताय बहुजनसुखाय धम्मो” । अर्थात् जे गर्दा बहुजन हित र बहुजन सुख हुन्छ¸ त्यही ने धर्म हो । त्यस्तै वेदले भन्छ -“मा हिंस्यात् सर्वभूतानि” अनि धम्मपदले भन्छ-“अहिंसा परमो धम्मो” अर्थात् कुनै पनि स्थावर जङ्गम जीवको हिंसा नगर¸अहिंसा नै परम धर्म हो । वैदिक धर्मले “बाँडेर खाउ बाँडेर लाउ बाँडेर बस भन्छ । सबैलाई भोका नाङ्गा सुकुमवासी राखेर एकले वाँदर न बन” भन्छ । यो धर्ममा सानो¸ ठूलो¸जातिवाद¸ पातिवाद¸ नातावाद¸ कृपावाद¸ थैलावाद¸ रैलावाद¸ आदि कुनै किसिमको भेद छैन । अझ यसको मूल सिद्धान्त त “ईशावास्यामिदं सर्वं यत् किञ्च जगत्याञ्जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद् धनम्” अर्थात् “यो जगत् सबैतिर ईश्वरले वास गरेको छ । तिनै ईश्वरले दिएका वस्तुको उपभोग गर अरु कसैका चल अचल धनमा गिद्धका आँखा नगाड लोभ न गर” हो । यस्तो सबैको भलो चिताउने धर्म नाशेर यहाँ पैसाको लोभमा विभिन्न रिलिजनको विस्तार गर्नु भनेको यो देशलाई धर्मयुद्धतिर लैजानु नै हो । यो देशमा पशुपतिनाथ आदि मन्दिरहरूको आम्दानि राष्ट्रलॆ दुरुपयोग गरिरहेको छ भने मस्जिद् र चर्चलाई कुनै नियमभित्र पारिएको छैन ।
अहिले धर्मनिरपेक्षता बारेमा केही नयाँ बहस चलाइएको छ । रवीन्द्र मिश्रले आफ्नो व्यक्तिगत धारणा भनी धर्मनिरपेक्षता र सापेक्षतालाई जनमत संग्रहमा लगी टुङ्गाऊँ भन्दा केही राजनीति तातेको अवस्था पनि छ । कोही उनको सपोर्टमा देखिएका छन् भने कोही विरोधमा । यिनको यो पछिल्लो ललीपपमा हाम्रो धर्म संस्कारलाई फाइदा हुने कुनै तुक देखिएको छैन । सपोर्ट गर्नेहरूले यिनलाई राम्ररी बुझेकै छैनन् । यिनको विरोध त तैले पिटेजस्तो गर म रोए जस्तो गर्छु भने जस्तै हो । रवीन्द्र मिश्र तिनै व्यक्ति हुन् जसले आफ्ना बाबु मनोजबाबु मिश्रको २०७५ श्रावण महीनामा निधन हुँदा ५ दिनमै क्रिया सकेका थिए । उनको पार्टीकी रञ्जु दर्शनाले तीज र ऋषिपञ्चमी विरुद्ध लेख लेखेकी थिइन् । अहिले यो पार्टीभित्रका अधिकांशजन नेपालमा प्रगति गर्नु भनेको यहाँको वैदिक धर्म नाश गरी क्रिश्चियन धर्म लाद्नु हो भन्ने विचारकै छन् । त्यसैले रवीन्द्र मिश्रले बोलेको बोलीमा अत्यन्तै शङ्का छ । महर्षि महेश योगीको अभियानको अवलोकनपछि उनको साच्चै चेतना आएको हो भने पनि धर्मनिरपेक्षता जनमतमा लानुपर्ने विषय होइन भन्ने उनले बुझ्नुपर्यो ।
राष्ट्रगुरु योगी नरहरिनाथले “हे हिन्दुराष्ट्र ! गोर्खा ! ! तेरो मुख हेरेर “ॐ गौः संस्कृतम्”भन्ने विश्वका कोटि-कोटि हिन्दुहरु आफ्नो शिर ठाडो पार्छन् । “आत्मा खलु विश्वमूलम्” भनेर विश्वलाई आत्मा ठानेर “वेदोऽखिलो धर्ममूलम्” भनेर वेदलाई विश्वमानवधर्मको मूल मानेको हुनाले तँलाई विश्वले हिन्दुधर्मको एकताको केन्द्रविन्दु मानेको हो । परको ध्यान नराखेर¸विवेकहिन भएर आज तैँले हिन्दुत्व त्यागिस् भने भोलि तँलाई कसैले पनि मान्ने छैनन् । तेरो अस्तित्व पनि रहने छैन । साथै विश्वका हिन्दुहरूको पनि अस्तित्व मेटिने छ । सो जानी पूर्वजहरूको ऎतिहासिक आदर्श “हिन्दु हम वीर”जम्बूद्वीपका हिन्दुनामा एक असल हिन्दुस्थान हो भन्ने इतिहासका सुनौला पानामा कालोमोसो घसिने छ । सगरमाथा झुक्ने छ । हिन्दुजाती सदाका समाप्त हुने छन् । मनुका पालादेखि अटल रहेको कैलासकुटको मुकुट पनि मेटिने छ ।। सावधान ।।” गर्नुभएको भविष्यवाणी सत्य सावित हुँदै छ ।
‘धर्मो रक्षति रक्षितः’ भनेकोले धर्मको रक्षा गरे बल्ल त्यसले हाम्रो रक्षा गर्ने हो । नभए हाम्रो विभत्स मृत्यु अवश्यम्भावी छ । त्यसैले अझै पनि समय बाँकी छ । ८० % भन्दा माथि हिन्दुधर्माबलम्बी भएको देशमा धर्मनिरपेक्षता सिधै खारेज गरी सबै धर्म संस्कार र संस्कृतिको सम्मान गर्ने हिन्दु धर्मसापेक्ष देश गराउनु हामी सबैको कर्तव्य हुन आएको छ । बाबु र आमा परिवर्तन नभए जस्तै धर्म पनि परिवर्तन गर्ने वस्तु होइन । अब पनि Animalism तिर लाग्ने होइन “अहं ब्रह्मास्मि” तिर लागौँ । यसैमा शिवशान्ति छ ।