– हामी –
उप प्राध्यापक (नेसंवि) – श्याम खनाल….📝
कक्षा १० को ऐच्छिक गणितको कक्षामा ब्ल्याकबोर्डमा एउटा सरल रेखा खिच्दै गुरु मुकुन्द आचार्यले यो रेखा नछोइकन यसलाई सानो बनाऊ भन्नुभयो । लगभग ६५ जनाको कक्षाकोठामा रहेका हामी सबै विद्यार्थी उहाँको कुरामा अचम्म मान्दै अलमलमा पर्यौँ । कक्षामा रहेका सबै विद्यार्थी अलमलमा परेको देखी हामी सबैका प्रिय गुरुले मुखमा रहेको तमालपत्र चपाउँदै हाँस्दै त्यही रेखाको नजिक त्योभन्दा लामो रेखा खिची त्यसलाई सानो बनाइदिनुभयो ।
यो प्रसङ्ग यहाँ किन गरियो भने गणितविद्याको यो रेखाचित्र अहिले समाजमा मानिसमाथि प्रयोग भइरहेको छ । हामी आफूले राम्रो काम गरेर आफू समाजमा राम्रो हुनुभन्दा पनि अरूलाई नराम्रो देखाएर आफू राम्रो हुने प्रयासमा छौँ । गधा चढेर हुन्छ कि भाँडा फुटालेर हुन्छ जसरी भए पनि प्रसिद्ध होऊ भन्ने नीतिको अनुसरणमा हामी निरन्तर अभ्यासरत छौँ ।
वैदिक सभ्यताका विश्व कल्याणका लागि रचिएका अकाट्य रचनाहरू पढ्ने फुर्सद हामीलाई छैन । आफ्नो विषयवस्तुको अध्ययन गर्ने फुर्सद हामीलाई छैन । खप्तड स्वामी, योगी नरहरिनाथ, नयराज पन्त, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटाका रचना पढ्ने फुर्सद हामीलाई छैन । विदेशमा असफल भई यता फ्याँकिएका How to drink Beer जस्ता खाइसार र लाइसारका पुस्तक पढ्ने फुर्सद भने हामीलाई अत्यन्तै छ । कसैले फेसबुकमा कुनै राम्रो वा नराम्रो कुरा राख्यो भने त्यसको दल र गुठ हेरेर अन्धप्रशंसा वा अन्धआलोचना गर्न हामी खप्पिस छौँ । हामी हाम्रो स्तर विर्सेर गालीशिरोमणि बन्ने होटमा छौँ ।
विश्वभाषा संस्कृतको अध्ययन नेपालमै होस् भनेर नेपाल संस्कृत विश्वविद्यालयको जग दाङ्मा बसाल्ने शिवांश पुरुष योगी नरहरिनाथका समेत हामी दोष देख्न अत्यन्त खप्पिस छौँ । वेद, वैदिक धर्म र वैदिक भाषाको रक्षार्थ उहाँले कहिले राजासँग, कहिले प्रधानमन्त्री त कहिले विदेशी विधर्मीहरूसँग लडी यो देश बचाएको कुरा त हामीलाई एकादेशको कुरा भइसक्यो । विदेशमा समेत वैदिक भाषा र संस्कारको प्रचार प्रसार गरी ध्यानका माध्यमले विश्वलाई शिव शान्तिको मार्गमा सधै डोराउनुहुने महर्षि महेश योगीको Transcendental Meditation उहाँहरूले दिएको फ्रीको माम लुँडाउँदासम्म त राम्रै लाग्छ तर जब त्यहाँबाट फर्कन्छौँ अनि हामी पुनर्मुषिको भव भन्ने वचनकै पालना गर्दछौँ । योग, प्राणायाम र आयुर्वेदबाट मानिसलाई मानसिक तथा शारीरिक स्वस्थता प्रदान गर्ने बाबा रामदेवलाई त अझ व्यापारीको रुपमा चित्रण गरी डकार्न हामी तल्लिन छौँ । गुरु गोरक्षनाथको शिष्य परम्पराबाट दीक्षित योगी आदित्यनाथ जो भारतमा आयातीतहरूबाट पिल्सिएर रहेका हिन्दुहरू एवं आफ्नै धर्मभिरुबाट प्रताडित मुसलमान महिलाहरूको अधिकारका लागि अहोरात्र खटीरहेका छन् त्यस्ता महापुरुषलाई त हामी जोगीले पनि राजनीति गर्छन् र कहिँ भन्दै हल्का तरीकाले लिइरहेका छौँ ।
यो देशमा भाँडभैलो मच्चाई राज गर्ने मनसाय भएका विदेशी विधर्मीहरूका नेपाली नोकरहरूका हामी गोटी हौँ । त्यसैले तिनीहरूलाई हामीले ठूला प्रगतिवादी भनी तिनका विखण्डनकारी स्ट्यासहरूमा कालो चस्मा लगाएर वाह वाह गरिरहेका छौँ । खगेन्द्र संग्रौला हाम्रो प्रिय लेखक हुन् । देशको धर्म संस्कार संस्कृति अनुकूलका मार्गदर्शक लेख लेख्ने युवराज घिमिरे देवप्रकाश त्रिपाठी मोहन लाम्बा रुम्बा Mohan Lama Rumba आदिलाई हामी कताको विशेषण लगाएर हुन्छ खेदो खन्न तत्पर छौँ । कसैले राखेका फेसबुकका मुख्य बस्तुलाई मन पराउँदा हाम्रो इज्जत जान्छ तर त्यो विषयवस्तुमा कसैले टिप्पणी गरेको भए तिनीहरूको झगडा गराउन हामी कुत्सित अन्नको प्रभावले मायाको बटन हानिहाल्छौँ । हामी कसैलाई जुटाउन भन्दा पनि नभएको कुरा लगाएर फुटाउन विहान बेलुकाको नित्य कर्म छोडेर भए पनि लागिपर्छौँ । दुई चार जनाले वाह वाह गरिदिए भने हामी भुइँ न भाँडाका हुन्छौँ । हामी आफ्नो अत्यन्तै नजिकको दुःखी गरीब मामा भाञ्जा वा आफन्तीलाई टाढाको देख्छौँ तर गोरुबेचेको नातोलाई पनि सच्चा नातो तुल्याई ठूल्याइँ देखाउने काममा अग्रपङ्क्तिमा हुन्छौँ ।
हामी अरुको आङ्मा जुम्रा पनि देख्छौँ तर आफ्नो आङ्मा भने भैसी पनि देख्दैनौँ । हामी आफूलाई अरु सबैभन्दा ठूलो विद्वान् जान्नी सुन्नी सबै ठान्छौँ । हामी अरुलाई क्यान्सर हुँदा पनि सामान्य ढङ्गले लिन्छौँ तर आफूलाई एक दिन खाना रुचेन भने पनि त्यसलाई पहाड बनाउन खप्पिस छौँ । कसैका लेख रचनालाई तल माथि पारेर वा शास्त्रीय कुरालाई तोडमोड पारी केही लेख्दा पनि गमक्क पर्ने हामी । बाबु आमाले पाइदिएर मात्र आश्रममा छोडेर गए । आफू त्यहीँ हुर्कियो पढियो केही जानियो तर त्यो आफ्नो आश्रमको दुखमा साथ दिनु त कता हो कता गुरुपूर्णिमाका दिन पनि गुरुलाई भेट्न नजाने महामानव हामी । बृद्धावस्थाका पितामाताको सेवा त कता हो कता अंशवण्डा गर्दा केही तलमाथि पर्यो भनी उल्टै उहाँहरूसँग बोलचाल बन्द गर्ने पनि हामी ।
फल्नो पक्लक्कै मरोस् भनेर बोकाको भाकल गर्ने ईश्वरवादी पनि हामी । अनि रक्षाबन्धन र शिवरात्रीको विरोध गरी चर्च जाने अनीश्वरवादी पनि हामी । छोराछोरीले माता, पिता भन्दा लाज मानेर ड्याडी मम्मी भन्दा मख्ख पर्ने पनि हामी । घरभित्र निस्तो आटो खाई छिमेकीलाई देखाउन बाहिर कुकुरलाई भात टक्राउने पनि हामी । कनीकुथी चोरचार पारी गीत भजन आदि रचना निकाली संसारकै उत्कृष्ट भनी प्रचारप्रसार गर्ने पनि हामी । केही दक्षिणा हात पर्यो भने आँखामा पट्टी बाँधेर चोरलाई सम्मान र साधुलाई दण्ड दिन सक्ने पनि हामी ।
हामीले संस्कृत भाषाको प्रशिक्षण त गराउँछौँ । तर हाम्रा संस्कार र संस्कृतिको प्रशिक्षण गराउन हामीलाई लाज लाग्छ । हामी पुरातनवादी भएको महसुस गर्छौँ । त्यसैले पैसाको लोभमा साईचरितम् र ईसाइचरितम् लेख्ने पनि हामी । संस्कृतको प्रशिक्षणका माध्यमले बरु हामी हाम्रा दलका सदस्य बढाउन तत्पर रहन्छौँ । त्यस्तै हामीले ‘पयसः अष्टगुणं मांसम्’ धेरैलाई सिकाएका छौँ । तर मांसात् दशगुणं घृतम् चाहिँ मनमनै भन्ने गरेका छौँ । विहान बेलुकाको छाक टार्ने माध्यमको रुपमा कर्मकाण्डलाई पेशोको रुपमा लिएका हामी बाबुराम कृष्ण सिटौला सुवास नेम्वाङ्ग रघुजी आदिलाई आदर्श पुरुषका रूपमा मान्छौँ ।
हाम्रा धर्मसंस्कार रीति स्थितिमा हामी अवैज्ञानिकता देखी क्रिसमस र ईदको सार्वजनिक विदाको लागि नाराजुलुसमा समेत उत्रन्छौँ । हामी हाम्रा चाड पर्वको बारेका पुरा अनभिज्ञ छौँ तर जब ईद र क्रिसमस आउँछन् अनि फेसबुक रङ्गाउन प्रतिस्पर्धामा उत्रन्छौँ । बकर ईद र क्रिसमसमा हुने अरबौँ प्राणीहत्याको बारेमा बोल्न हामीलाई डर लाग्छ तर हामी शाकाहारी संघ गठन गरी रत्नपार्कमा वैरागीको भेला गराउन अत्यन्तै सक्षम छौँ । हाम्रा भगवान् तुल्य पिता मातालाई सास्टाङ्गदण्डवत् प्रणाम गर्नुलाई हामी सामन्तवादको संज्ञा दिन्छौँ । मृत्युपछिको १३ दिनको क्रियाकर्म गर्न पनि हामीलाई लामो लाग्छ । अनि ती विषयका अनविज्ञहरूले गरेको ५ दिने र ७ दिनेको षडयन्त्रलाई हामी आप्तबचन सम्झन्छौँ । हामी आफूलाई बाँदरका सन्तान भन्दा गौरब गर्छौँ तर ऋषिमुनीका सन्तान भन्दा लाज मान्छौँ ।
हामी हाम्रो देशबाट ४-५ पुस्ताका अगाडि भुटान गई त्यहाँबाट लखेट्टी नेपाल आएका भुटानी शरणार्थीहरू जसले यो देशबाट अरु देशमा स्थानान्तर हुँदा यहाँको माटो लिएर गए । त्यस्ता मातृभूमिप्रेमीहरूलाई नागरिकता दिन सकेनौँ । तर पाकिस्तान र वङ्गलादेशबाट लखेटिएर भन्दा पनि जनसंख्याको बृद्धि गराई मुस्लिमहरू बढाउन आएकाहरूलाई तुरुन्तातुरुन्तै नागरिकता दियौँ । हामी ती भुटानीहरूलाई झापाबाट एता आउन दिएनौँ तर वर्माबाट आएका रोहिङ्ग्याहरूलाई ज्वाइँको रुपमा काठमाडौँमा पालिरहेका छौँ । हामी हाम्रा देशमा आजभन्दा करीब ५०० वर्ष अगाडी ल्याइएका पहाडी मियाहरू जो हज गर्न जाँदा पनि नेपाली पोशाक दौरा सुरुवाल कोट टोपीमा जान्छन् तिनीहरूको अधिकारको लागि कहिल्यै लडेनौँ । आरक्षणमा अल्पसंख्यक पहाडी मियाँ भनेर राख्नुको सट्टा बङ्गलादेशी र पाकिस्तानीहरूलाई सजिलो तुल्याउने अल्पसंख्यक मुस्मिल भन्ने शब्द राखी भोटको राजनीतिमा नाङ्गै भएर लाग्यौँ ।
हामी हाम्रो स्वदेशी राष्ट्रिय पोशाक दौरा सुरुवालको घृणा गर्दछौँ । धोती, गम्छा र टोपी प्रिय छैनन् । सुट र टाइ हाम्रो प्रिय पोशाकरू हुन् । टाँक तल माथि परेको समेत थाहा नपाउने गरी कोट लाएर आधुनिक बन्नु छ । हामी अन्तराष्ट्रमा गएर डिलिङ्ग गर्ने भाषाबाट अनभिज्ञ छौँ । नजिकैको मित्र राष्ट्रले दिनप्रतिदिन आर्थिक सामाजिक धार्मिक प्रगति गरिरहँदा हामी अहिले पनि प्रतिगमन र अग्रगमनमै अल्झिरहेका छौँ । नजिकैको मित्रराष्ट्रका सरकारी कार्यालयमा जाँदा हामी त्यहाँ धोती र ब्लाउज लगाएका युवतीहरू अंग्रेजी भाषाका माध्यमले विदेशीहरूलाई मार्गदर्शन गराइरहेको देख्छौँ । तर हाम्रो देशमा भने हामी ६० वर्षका महिलाहरू पनि पाइन्ट र सर्टमा ढल्केर पनि अंग्रेजी भाषा त कहाँ हो कहाँ नेपालीमा पनि Politely प्रस्तुत हुन जानेका देखेका छैनौँ । हामीले आधुनिक हुनु भनेको देशको संस्कृतिलाई मासेर विदेशी भेष विदेशी खाना विदेशी रहनसहन विदेशी धर्म ल्याउनु भन्ने बुझेका छौँ ।
त्यसैले हामी हामी नै हौँ । अर्कोलाई सानो बनाएर ठूलो हुने प्रयासमा लागेका खोक्रे नामी हौँ । शास्त्रलाई पनि आफू अनुकूल व्याख्या गरी काम गर्ने कामी हौँ हामी ।