आमा जिउँदै सन्तान टुहुरा :- डा. टिकाराम पन्थी
—————————————————–
[हालका दिनमा कालीगण्डकी नदीलाई डाइभर्सन गरी तिनाउँमा मिसाउने कुराले एकदमै बजार तताइरहेको छ ।
आफ्नो संस्कार संस्कृति प्रकृति र धर्मलाई माया गर्नेहरू यस कुराको विरोधमा उत्रिएका छन् भने विकासका नाममा विनास चाहनेहरू यसको लहलहैमा लागेका छन् ।
आजभन्दा केही वर्ष अगाडि पनि कालिगण्डकी जलविद्युत् आयोजनाले सम्पूर्ण पानी मिर्मिमा थुनेर वेलटारीमा खसाउने भन्दा तत्कालीन अवस्थामा प्रकृति र धर्मप्रेमी महानुभावहरूको विरोधका कारण जलविद्युतले थोरै भए पनि जल छोडिदिएकोले कालीगण्डकीको अस्तित्व मिर्मीदेखि बेलटारीसम्म अलिकति भएपनि रहेको छ ।
त्यसै सिलसिलामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष विशिष्ट विद्वान् डा.टीकाराम पन्थीद्वारा दैनिक लुम्बिनी नामको पत्रिकामा २०६०।४।२७ मा जनचेतनाका लागि प्रतिकात्मक लेख छाप्नुभएको थियो ।
त्यो लेखको महत्त्व यस वेलामा पनि देखिएकोले (उप प्राध्यापक -नेपाल संस्कृत विश्वविद्यालय-श्याम खनालले टाइप गरी हुबहु आफ्नो फेसबूकमा प्रस्तुत गरिएको सामाग्री हो । अतः सबैले पढी कार्यान्वयनको बाटोमा हिँड्नु नै हुनेछ भन्ने आशा लिएको छौँ । ]
——————————————
२०६० असार २६ गते बिहिबार‚ हरिशयनी एकादशी भगवान् हरि चार महिनाका लागि सुत्ने दिन । रुरुक्षेत्र रिडीमा पवित्र पर्वको अवसरमा गण्डकीमा नुहाउने र हृषीकेश भगवान्को दर्शन गर्ने इच्छाले ओइरिने तीर्थालु भक्तजनहरू विगत वर्षहरूमा झैँ ओइरिएनन्‚ सुनसान जस्तो थियो ।
रुरुक्षेत्रमा युगौँ अघिदेखि अवस्थित भगवान् हरिकै अंशभूत शालग्रामरूपी भगवान् हृषीकेश सुत्नुभएछ‚ सुतेको केही घण्टापछि सुषुप्ति भङ्ग भएछ‚ एकाएक उहाँले सपना देख्नुभएछ‚ जसमा दिव्यमूर्ति देवीको रूप धारणा गरेकी गण्डकी माताको दर्शन पाउनुभएछ ।
केही बेरसम्म आमा-छोराको मौनतापछि गद्गद् स्वरमा हृषीकेश भगवान्ले आमासमक्ष आफ्नो उद्गार यसरी पोख्नुभएछ-“आमा ! तपाइँले मलाई किन यसरी च्यात्तै छोड्नुभयो ? म आमा छँदै टुहुरो भएँ ।
मजस्तै तपाइँको जलमय गर्भमा बसेका तपाइँका हजारौँ शालग्राममय छोरा बनेका देवताहरू टुहुरा बने । तपाईँ विद्युत् उत्पादनतर्फ जाँदा आफ्ना सन्ततिसँग कुराकानी गरेर‚ शान्त पारेर जान सक्नुहुन्थ्यो ।
आज हरिशयनी एकादशीका दिन पनि बडीघाट खोलामा नुहाउने इच्छा नभएर तीर्थालु भक्तजन आएनन् । मेरो दर्शन गर्ने कोही भएन‚ मन्दिर सुनसान रह्यो । माघे सङ्क्रान्ति र माघे औँसीमा पनि धार्मिक मानिसहरू यहाँ आउन छोडे । बिहान-बेलुकी नियमित धूपबत्ती गर्ने तलबी पुजारीबाहेक मेरो पूजा गर्ने मानिस कोही छैन ।
हजारौँ वर्षसम्म तप गरेको वरदानले गर्दा नै तपाइँको गर्भमा शालग्राम शिलाको रूपमा प्रविष्ट भएँ‚ अनि मलाई मन परेको ठाउँमा तपाइँका पेटमा बग्दै बग्दै रिडी र गण्डकीका संगममा बसेको थिएँ । पाल्पाली राजा मणिमुकुन्द सेनले नुहाउन लाग्दा मलाई छोए‚ समातेर बाहिर निकाले ।
उनले मलाई तानसेन नगरीतर्फ लैजान खोज्दा आमाको काख नछोड्ने इच्छाले गर्दा उनको इच्छालाई लत्याएँ‚ म त्यता जान पनि मानिनँ । चार बाहुमा शंख‚ चक्र‚ गदा‚ पद्म लिएको दिव्य भव्य प्राकृतिक अलौकिक मूर्ति देखेर मुग्ध भएका ती मणिमुकुन्द सेन राजाले मलाई यहीँ स्थापित गरिदिए‚ मन्दिर बनाइयो‚ पूजाको व्यवस्था भयो ।
आमा ! तपाइँले मलाई सधैँका लागि छोडेर विद्युत् उत्पादन सद्मतर्फ लाग्नुभयो ! मप्रति छद्म भयो । आमा ! तपाइँले छोडेको ठाउँदेखि बडीघाट नदीसम्म तपाइँ हिँडेको ठाउँ सुख्खा ओवानो बगर छ‚ धूलो उडिरहेको छ‚ तपाइँका छोरा शालग्राम देवताहरूलाई किच्दै थिच्दै मिच्दै ट्याक्टरहरू दौडिरहेका छन्‚ बाडीघाट नदीदेखि उँधो रुरुक्षेत्र रिडीसम्म र त्यहाँदेखि तलतिर पनि मन नपरेकी धाई आमाको काखमा तिनीहरू रोएरै बसेका छन् । तपाइँको जलप्रवाह मिसिन छोडेपछि संगमै रहेन‚ अब रुद्रवेणी शब्दका ठाउँमा अर्को कुन शब्द राख्नुपर्ने हो ?
म लगायत शालग्रामरूपी छोराहरूलाई टुहुरा नबनाउनुहोस् आमा !” अनि गण्डकी माताले आँखाबाट आँसुका धारा बगाउँदै प्यारा छोरा हृषीकेशलाई यसरी उत्तर दिनुभएछ- “बाबु हृषीकेश ! यस ठाउँमा सृष्टिको शुरुवातदेखि नै आमा जिउँदी छँदै छोराछोरी टुहुरा-टुहुरी बन्ने परम्परा छ ।
यहाँ राजर्षि भरतले मृगिणीको गर्भबाट जन्मेको‚ आमाको मुखै नदेखेको‚ आमा जीवित छँदै टुहुरो बनेको मृगशिशुलाई जन्मदिनदेखि पाले‚ हुर्काए । प्रम्लोचा अप्सराले देवदत्त मुनिको गर्भधारण गरिन्‚ गर्भबाट कन्या जन्माउने बित्तिकै छोरीको मुखै नदेखीकन स्वर्गतर्फ दौडिन् । आमा जीवितै छँदै टुहुरी बनेकी ती बालिकालाई रुरु मृगहरूले पाले‚ तिनको नामै रुरु भयो ।
तिनै रुरु नानीको तपस्याबाट प्रसन्न भएर वरदान दिने स्वयं तिमी नै हृषीकेश भगवान्को नामले यहाँ रहन थाल्यौ । रुरुलाई दिएको वरदान पालन गर्नुपर्ने बाध्यताले नै तिमी तानसेन जान मानेनौँ । अब तिमी धाई आमा बडीघाट नदीका काखमा बसिराख । अन्य शालग्रामहरू पनि त्यसैमा सन्तुष्ट मै बसून् ।
रुद्रवेणीको नाम रुद्रलेण्डी हुनुपर्छ । रुद्रलेण्डीदेखि माथितर्फको सुख्खा बगरमा बसेका टुहुरा बनेका मेरा प्रिय पुत्र शालग्रामहरूलाई गाउँलेहरू खोर्सँदै लैजाँदै गर्नेछन् र घरघरमा पुज्नेछन् । तिम्रो दर्शनार्थ मानिसहरू आएनन् भने दुःख नमान‚ सौभाग्य मान ।
मेरा बहिनीहरू महाकाली-सेती नदीका तटवर्ती गाउँहरूमा रहेका शिवालय भत्काइए‚ शिवलिङ्गहरू धूलो पीठो पारिए‚ पुजारीहरूका जनै शिखा काटिए । त्यस्तो काममा लागेका महामानवहरूले भक्त-भक्तिनीहरूको भीडभाड भएन भने तिम्रो मन्दिरमा हमला गर्ने छैनन् ।
बिहान बेलुकीको धूपबत्ती पनि छुटेमा तिम्रो मन्दिर भत्काउने र तिम्रो टाउको फोर्ने काम महामानवहरूद्वारा सम्भवतः नगरिएला । नानी हृषीकेश ! म त आधुनिक यान्त्रिक-साञ्चारिक विकासको लागि विद्युत् आयोजनातर्फ लागेँ ।
विद्युत्बाटै मानिसहरूका घर उज्याला हुन्छन्‚ रेडियो र टि.भी. चल्छन्‚ नाना यन्त्रहरू चल्छन् । अब म रुरुक्षेत्र आएर पुरातनपन्थी रूढिवादीहरूको नाङ्गो शरीर नुहाइदिने‚ धोईपखाली गरिदिने काम गर्दिनँ‚ विद्युत् उत्पादनद्वारा घरघरै युवायुवतीहरूलाई टेलिभिजनमार्फत् चलचित्रहरूमा नाङ्गा नाच देखाइदिनेछु ।
विद्युत्‚ भूमण्डलको आगो र सूर्य तेज एउटै हो । आगाकै महत्त्व भएको आजको युगमा पानीबाट विद्युत् अर्थात् आगो उत्पादित हुनु आवश्यक छ । बाबु हृषीकेश ! आदिम युगमा यहीँ माथि थोर्गाका सालघारीमा स-साना ढुङ्गाका टुक्राहरू मुखमा बुजो हालेर घुमिरहेका भगवान् ऋषभदेव डढेलोसाथ जलेर भस्म भएका थिए ।
रुरुक्षेत्रकै सिरानमा रेसुङ्गामा यदुकानन्दन प्रभुले यज्ञशालाको आगोमा धोती‚ दोसल्ला‚ छाता र चाँदीका रुपैयाँ होमे । राणाशासन समाप्तिपछि उनले आश्रमका सारा घरहरूमा भित्ता-भित्तामा मट्टितेल छ्यापेर आगो झोँसे भस्म‚ खरानी पारे । वर्तमान समयमा महामानवहरूले आगोले नै सरकारी कार्यालयहरू‚ पुस्तकालयहरू‚ जलाइरहेका छन्‚ बाबु‚ म बिजुली‚ आगो उत्पादनतर्फ लागेँ चित्त नदुखाई बस ।”
त्यसपछि भगवान् हृषीकेश झसङ्ग हुँदै जाग्नुभएछ । आमा कतै छन् कि भनेर यताउति हेर्न लाग्नुभएछ । अडियो रेकर्डिङ् परमानन्द गुरुकुलका अध्यापक सन्तोष वस्यालले गरेका हुन् ।