लघुकथा :- पर्दाफास
छविलाल खड्का
आज मार्च ८ तारिख , शहरमा माइकिङ भइरहेथ्यो,
“नारी दिवसको अवसरमा मूर्धन्य महिला अधिकारकर्मीले सम्बोधन गर्नुहुने भएकोले यहाँहरू सबैलाई चुले निम्तो छ ।”
सम्झनाको निकै करबलले विनिता पनि कार्यक्रमतिर लागीन।
उनीहरू पुग्दा कार्यक्रम शुरू भैसकेको थियो । कार्यक्रमस्थल खचाखच थियो । धेरै वक्ताले बोलिसकेका रहेछन् । उद्घोषकले भन्दै थिइन् – आदरणीय आमा, दिदी, बहिनीहरू, हामी कार्यक्रमको मुटुमै पुग्न थाल्यौं ।
अब आउँदै हुनुहुन्छ, महिला अधिकारको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल व्यक्तित्व जसले यस क्षेत्रमा गरेको योगदान बापत थुप्रै अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार पाउनुभएको छ । हाम्रा मुटुका ढुकढुकी रिना…..देवी।
गड्गडाहट तालीले स्वागत गरे । मञ्चबाटै हात हल्लाउँदै रोस्टममा उभिइन्।
मै बहुत बहुत धन्यवाद दे ती हुँ । यो ट्वान्टी फस्ट सेन्चुरीमा पनि वुमेन राइटका बारेमे बोल्नुपर्दा थोडा सर्मिन्दा हुन्छ ।
आज मै विश्वका नारीहरूको अवस्था र तिनका अधिकारका बारेमा खोतल्ने प्रयास गर्नेछ भन्दै गर्दा विनिता आक्रोसित भइन् ।
जुरुक्क उठेर मञ्चमा पुगिन् । आँखाबाट आगोको लप्का निक्लियो।
रिसले थरथर काँप छुट्यो । अतिथिको गालामा जोडले एक थप्पड लगाइन् । सबै हेरेका हेरै भए ।
उनले माइक खोसिन् र बोल्न थालिन् – हजारौ नारीहरूलाई कोठीमा नारकीय जीवन जिउन बाध्य पार्ने राक्षसी रिनादेवी महान महिला अधिकारकर्मी हुन सक्तिनन् । यसको ज्वलन्त प्रमाण म आफै हुँ । नागरिकन्युजबाट साभार ।