नेपालमा गाँजा प्रतिबन्धको भूराजनीतिक अर्थ: सचिब भिम उपाध्याय

नेपालमा गाँजा प्रतिबन्धको भूराजनीतिक अर्थ:

हामीले हरेक वर्ष महाशिवरात्री मनाउँदै गर्दा चार दशकअघि सरकारले गाँजामाथि प्रतिबन्ध लगाएको घटनाले थोरबहुत चर्चा पाउने गर्छ । विसं. २०३३ सालमा राजा वीरेन्द्रले ‘लागू औषध (नियन्त्रण) ऐन’ जारी गरेर नेपालमा गाँजामाथि प्रतिबन्ध लगाएका थिए । त्यसपछि भर्खरै संसदमा ‘गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन’ गर्ने ऐनको विधेयक दर्ता भएको छ ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

पछिल्ला ४४ वर्षमा नेपालमा गाँजालाई ‘सामाजिक समस्या’को रुपमा चित्रण गर्न खुबै मिहेनत भयो । तर यसको पछाडी कैयौं राजनीतिक, आर्थिक र सामाजिक स्वार्थ थिए भन्नेमा धेरैले ध्यान दिएको देखिँदैन । गाँजामा प्रतिबन्ध लगाउँदा हामीले कुन हदको सामाजिक-आर्थिक क्षति व्यहोर्नु पर्‍यो भन्ने अध्ययन भएको छैन ।

नेपालमा गाँजा प्रतिबन्ध लगाइनुका केही महत्वपूर्ण आयाम छन् । त्यसमध्ये पहिलो कुरा हो, यसको औषधीय गुण र त्यसको अर्थतन्त्र । अहिले संसारमा कुनै एउटा वनस्पतिमा सबैभन्दा ठूलो लगानी भएको छ भने त्यो गाँजा हो । गाँजामा पाइने असाधारण औषधीय गुणकै कारण संसारमा यसको तीव्रतर प्रबद्र्धन गर्न थालिएको छ । पश्चिमा मुलुकहरु नै यसमा ज्यादातर लगानी बढाइरहेका छन् । अहिले विश्वमा हतियारपछि दोस्रो ठूलो बजार र अर्थतन्त्र औषधिको छ । तर औषधिमा पनि कतिपय रोगको सफल उपचार पत्ता लागेको छैन ।

अहिले पनि पाश्चात्य औषध विज्ञानले कैयौं असाध्य (दीर्घ) रोगको उपचार खुट्याउन सकेको छैन । त्यस्ता औषधि एउटा रोगको उपचारमा प्रयोग गर्दा शरीरमा अर्को रोग देखापर्ने जोखिम पनि त्यत्तिकै छ । उदाहरणका लागि दुखाइ कम गर्न प्रयोग हुने सबै किसिमका ‘पेन किलर’ औषधिले मानव स्वास्थ्यलाई कुनै न कुनै रुपमा हानि गरिरहेको हुन्छ ।

स्नायु र नसाका रोगी, डिप्रेशनजस्ता आधुनिक समस्याले पनि हाम्रो समाजलाई सताउन थालेको छ । यी रोगका औषधि पनि मावन शरीरलाई हानिकारक छन् । तर गाँजाले कुनै ‘साइड इफेक्ट’ गर्दैन । यसको मतलव, मान्छेहरुलाई गाँजा खाऊ भनेर सिफारिश गर्ने होइन । तर, कयौं रोगको उपचार गाँजाबाट सम्भव छ । पाचन, स्नायु, नसा, फोक्सो र कलेजोसम्बन्धी कतिपय रोगको उपचार गाँजाबाट हुनसक्छ भन्ने आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ ।

गाँजा प्रतिबन्धको अर्को असर हो हाम्रो शिक्षा प्रणाली । भारतीय शैक्षिक प्रणालीमा राज्य सञ्चालनका ६४ वटा कला सिकाइन्थ्यो भन्ने इतिहास छ । अहिले गुजरातमा मात्रै ६४ कलाको पढाइ हुन्छ । त्यसको पनि गुणस्तरका बारेमा हामी जानकार छैनौं । भगवान रामसँग पनि ३२ कलाको मात्र ज्ञान थियो भनिन्छ । यसले भारतीय समाजमा ज्ञान, वैज्ञानिकता र अन्वेषणको अभूतपूर्व संगम देखिन्छ ।

आजको नेपाल कुनै सभ्यता विकास गरेको भूमि होइन । यो त प्राचिन भारतको तपोभूमि हो । यहाँ महान दार्शनिक, ऋषिमुनीहरु तपस्या गर्न आउने ठाउँ हो । यहाँ ज्ञान हासिल गरेर विशाल आवादी भएको गंगा मैदानमा फर्कने र त्यहाँ आफ्नो ज्ञानको प्रचार गर्ने, समाजलाई मार्गनिर्देश गर्ने गरिन्थ्यो । आज हामी कुनै देशमा अध्ययन गर्न जान्छौं । तर जीवनभर त्यहीँ बस्दैनौं । पढाइसकेपछि आफ्नै देश फर्किन्छौं । त्यसबेला नेपाल पनि देवभूमि, तपोभूमिको रुपमा अहिलेको विश्वविद्यालयजस्तै थियो ।

दक्षिण भारतीयहरुको कूल देवता नै पशुपति नाथ हुन् । पशुपतिको मूल भट्ट दक्षिण भारतीय नै हुने चलनको जरो त्यही हजारौं वर्षअघि तपोभूमिको इतिहाससँग जोडिन्छ । धार्मिक र आध्यात्मिक केन्द्रको महत्व आजको भौगोलिक, राजनीतिक सीमासँग सरोकार राख्दैन । पशुपति संसारभरका हिन्दुहरुको तीर्थ हो । यो नेपालको एकलौटी सम्पत्ती होइन । अर्थात् यो ज्ञाको भूमि हो ।

यहाँका मान्छे ज्ञानको चरम सीमासम्म पुगेका छन् । दर्शन, अर्थशास्त्र, कला, साहित्य र नवप्रवर्तनमा प्राचिन भारतले धेरै उच्चकोटीको स्थान पाएको थियो । त्यसलाई नास्न र ज्ञानको असीम स्रोतलाई आफ्नो कब्जामा पार्न पनि यहाँका सामाजिक सम्बन्धहरु भत्काउनु आवस्यक हुन्थ्यो । पश्चिमाले यहाँको ‘सामाजिक विकृति चिर्ने’ नाममै त्यो उद्देश्य हासिल गरे । हाम्रा कतिपय महत्वपूणर् धार्मिक एवम् आध्यात्मिक ग्रन्थ युरोप पुर्‍याइएको छ । यो उनीहरुको ज्ञान संकलनको अभियानसँग पनि जोडिन्छ । गाँजाले मावन मस्तिष्कलाई निकै बल दिन्छ र यस्ता ज्ञानको पुनरोदय हुनसक्छ भन्ने डरले उनीहरुले एउटा बनस्पतिलाई ‘राजनीतिक तारो’ बनाए ।

प्रतिबन्धको पृष्ठभूमि
४५ वर्ष पछाडी फर्केर हेर्‍यौं भने अमेरिकी र युरोपेलीहरु धेरै डिप्रेशन भएर शान्तिका लागि नेपाल आउने प्रबृत्ती नै बनेको थियो । कैयौं अमेरिकीले भियतनाम लडाइँमा ज्यान गुमाए । तिनका परिवार तहसनहस भए । धेरै अमेरिकीलाई त्यो लडाइँले डिप्रेशनमा धकेलेको थियो । उनीहरु नेपालमा आउँथे, यहाँ गाँजा खान्थे र सम्पूणर् दुःख पीडा भुलेर आनन्द लिन्थे । तर अमेरिकी शासकलाई त्यो घटना प्रतिष्ठाको विषय बन्यो र नेपाललाई गाँजा प्रतिबन्ध लगाउन दवाब दियो ।
यस घटनाको पृष्ठभूमि चाहीँ बेलायतिहरुले तयार पारिदिएका थिए । एक पटक ब्रिटिश इण्डिया कम्पनीले भारत (अहिलेको भारत, पाकिस्तान, अफघानिस्तान, बंगलादेश, बर्मा) मा रोगको प्रकोप किन कम छ, भनेर अध्ययन गरेको थियो । यहाँका मानिस जुनसुकै अवस्थामा पनि स्वस्थ, सन्तुष्ट र खुसी रहन सक्नुको राज जान्न चाहन्थे उनीहरु । यसका लागि विभिन्न क्षेत्रका २००-३०० विज्ञलाई अध्ययनमा खटाइएको थियो । त्यो अध्ययनमा गाँजाका कारण मानिसमात्र होइन, पशुमा पनि स्वास्थ्य समस्या कम भएको तथ्य पत्ता लाग्यो । यसले गर्दा मानव स्वास्थ्यसम्बद्ध खर्च नगन्य भएको र ग्रामीण अर्थतन्त्र बलियो भएको उनीहरुले थाहा पाए ।

यसका साथै अन्याय, अत्याचार हुँदा पनि झगडा र काटमार नगर्ने मनोवृत्ती भारतमा देखियो । यसले प्रहरीजस्ता सुरक्षा खर्चमा राज्यले ठूलो रकम लगानी गर्नुपर्ने जरुरी थिएन । अपराधको जगमा आफ्नो आधिपत्य स्थापित गर्ने राजनीति पश्चिमाहरुले गरिरहेका थिए । मूलतः अफ्रिकामा यो नीतिले राम्रैसँग काम गरेको छ । तर भारतमा अपराध कम हुँदा उनीहरुलाई ‘फुटाऊ र राज गर’को रणनीति लागू गर्न अवरोध भइरहेको थियो । गाँजाको प्राकृतिक गुण नै मान्छेलाई भावुक बनाउने र सोचाइलाई गहिराइतर्फ लैजाने हो । गाँजामा अराजकताको कुनै स्थान नै हुँदैन ।

अहिले जे जति पैसा अनुसन्धान र विकासमा खर्च भएको छ, त्यसको ९९ प्रतिशतभन्दा ज्यादा कुनै न कुनै रुपमा मौद्रिक लाभसँग सम्बद्ध हुन्छ । विल्कुलै ज्ञानका लागि अनुसन्धान गर्ने परिपाटी आजको युगमा प्रायः लोप हुँदै छ । बेलायतको अध्ययन पनि त्यस्तै थियो । उनीहरु सय वर्षपछिको संभावनालाई हेरेर लगानी गर्छन् । आज कुनै क्षेत्रमा लगानी गर्दा वा कुनै नीतिगत परिवर्तन गर्दा ५०-१०० वर्षपछि कस्तो लाभ पाइन्छ भन्ने दूरदृष्टिमा उनीहरुले राजनीतिक सफलता पाइरहेका छन् । सायद उनीहरुले गाँजामा हस्तक्षेप गर्दा निकै धेरै लाभ लिन सक्ने आँकलन गरे ।

पश्चिमाले के पनि देखे भने, गाँजाबाट अलग्याउन सके नसाको खोजिमा लाग्नेहरु रक्सितिर आकर्षित् हुन्छन् र युरोपेली रक्सि उद्योगको बजार बढाउन सहयोग पुग्छ । त्यसबेला युरोपका महँगा ब्राण्डका रक्सि भारतीय उपमहाद्वीपमा ‘चखाउन’ बेलायतीले निकै मिहनेत गरे । त्यही रक्सिका कारण समाजलाई अपराधतर्फ उत्प्रेरित गर्न सकिने संभावना पनि छँदै थियो ।

हुन पनि त्यस्तै भयो । जब मान्छेहरुको रक्सिमा लत बस्न थाल्यो, त्यसपछि घरपरिवारभित्र झगडा बढ्न थाले । परिवारभित्रै बलात्कारका घटना हुन थाले । एउटै परिवारभित्र झगडा, काटमार, हत्या र घरेलु हिंसाका घटना बढ्न थाल्यो । आज नेपालमा हरेक वर्ष २८ हजार मान्छे रक्सिकै कारण मरिरहेका छन् । ६ हजार चुरोट खाएर मर्छन् । यस घटनाले केही समय पश्चिमा कम्पनीलाई चुरोट बनाउने प्रविधि बेच्नमा पनि सहयोग गर्‍यो ।

नेपालभित्रको राजनीतिक अदूरदर्शिताले पनि गाँजा प्रतिबन्धमा सहयोग पुग्यो । नेपालमा २०३३ सालमा गाँजामाथि प्रतिबन्ध लगाएको बदलामा अमेरिकाले नेपाललाई औलोको उपचारमा १ करोड अमेरिकी डलर अनुदान दिएको थियो । राजा त्यसबेला अनुदानको लोभमा आकर्षित भए ।

राजा वीरेन्द्रले पाश्चात्य अंग्रेजी शिक्षा लिएका थिए । यसले उनलाई उदार त बनायो । तर उनले आफ्नो राष्ट्रिय हितलाई चिन्न सकेनन् र विदेशीको दबाब थेग्न नसक्नेगरी कमजोर भए । उनी ‘वेस्टनाइज्ड’ (पश्चिममुखि) हुँदै जाँदा पञ्चायतलाई भ्रष्टाचार र विभेदको पराकाष्टामा पुर्‍याउन मद्दत मिल्यो । गाँजा प्रतिबन्ध पनि त्यही शीलसिलाको एउटा घटना थियो ।

शान्तिप्रिय सभ्यता
हामी भारतीय उपमहाद्वीपका मानिस झगडा गर्न अर्को भूमिमा आजसम्म गएका छैनौं । तर युरोपेली, मंगोलियन र जापानीहरु हाम्रो भूमिमा युद्ध गर्न आएका छन् । हाम्रो इतिहासमा अर्कालाई लुट्ने, मार्ने, अपराध गर्ने सोच र कौशल छैन । हाम्रा पूर्खा हिँडेका थिए, त केवल ज्ञानको खोजिमा । सभ्यताको विकास क्रमलाई हेर्ने हो भने हाम्रो बसाइँ सराइ कहिले पनि जीविकोपार्जनका लागि भएन । यहाँ पर्याप्त अनाज उत्पादन हुने, पशुपालन त्यत्तिकै राम्रो हुने भएकाले हामीलाई कहिल्यै बाँच्नैका लागि अभाव झेल्नु परेन ।

युरोपमा भने १८ औं शताब्दीको मध्येतिरबाट औद्योगिकरणको विकास हुनुअघि जीविकोपार्जनको ज्यादै ठूलो समस्या थियो । हुन त, औद्योगिकरणपछि पनि श्रमशोषणले युरोपेली समाजलाई प्रताडित पारेको थियो । अभावकै कारण प्राचिन समयमा पनि उनीहरु यत्रतत्र लुट्न हिँडिरहे । कयौं पटक धार्मिक युद्ध भए । दुवै विश्वयुद्ध युरोपमै भयो । कयौं युद्धको मूल कारण नै त्यही अभाव थियो । यो सबै ‘सर्भाइवल’का लागि थियो ।

युरोपबाट अमेरिका, भारत र अस्ट्रेलियासम्म मान्छेहरु अन्वेषणका लागि हिँडेका थिएनन् । ‘अब जीवनमा हाम्रो भेट हुँदैन’ भनेर परिवारसँग रुवाबासी गरेर विदा हुने अवस्था युरोपमा थियो । हामीले मार्कोपोलोको इतिहास अहिले पढ्दा भिन्न व्यख्या गरिन्छ । तर उनीहरु २५-३० वर्ष संसारभर भौंतारिएर ‘मार या मर’ भन्ने अवस्थाबाट गुज्रिएका थिए । ज्यान फालेर सम्पत्ती लुट्ने अभियानमा हिँडेका उनीहरु शान्त समाजमा आफ्नो उद्देश्यमा सफल नहुने कुरा थिएन । र वर्षैं लुटेर ठूलो धनराशी बोकेर उनीहरु युरोप फर्किए ।

बसाइँ सराइको यो इतिहासले पनि पश्चिमाहरु कति दरिद्र जीवनमा थिए भन्ने देखाउँछ । हामी आज गाउँबाट शहर आउनुको कारण सहज जीविकोपार्जन हो । तर काडमाडौंका मान्छे किन बाहिर बसाइँ सर्दैनन् भने उनीहरुलाई अन्तभन्दा आफ्नै ठाउँमा सबचिज पुगेको छ । आफ्नै ठाउँमा सुखी जीवन विताउनेहरु अन्यत्र भौंतारिँदैनन् । अहिले अमेरिकीहरु अन्त नजानुका कारण त्यही हो । जुन सम्पन्नता सभ्यता क्रमको सुरुवाती चरणमा हामीसँग थियो । त्यही शान्त सभ्यताको जगमा मानिसले गाँजालाई अम्मल बनाएका थिए ।

मनोसामाजिक चित्रण
नेपालमा गाँजा प्रतिबन्ध गरिएको साढे ४ दशकमा दुई पुस्ता वितेको छ । त्यसबेला १५ वर्ष भएको मान्छे अहिले ६० वर्षको भएको छ । अर्थात् ६० वर्ष उमेरसम्मका मान्छेलाई ‘गाँजा भनेको बर्बाद चिज हो’ भनेर ‘ब्रेनवास’ गरिएको छ । ६० वर्षभन्दा माथिका मान्छेलाई थाहा छ की, गाँजाले खास विगार गर्दैन भन्ने । अहिले पनि रक्सिलाई सारै घृणा गर्ने बूढा मान्छेहरु गाँजा खाँनु हुन्छ भन्छन् । तर उनीहरुको कुरा आजका युवामात्रै होइन, प्रौढ पुस्ता पनि स्वीकार्न तयार छैन ।
हामीलाई मानसिक रुपमा नै गाँजाको विरुद्धमा उभिन तयार गरिएको छ । हामी आफ्नो प्राचिन सभ्यताको ज्ञानबाट टाढिएका छौं । अहिले बाहिरी विश्वमा यसबारे भइरहेको अनुसन्धान र तिनका नतिजा पनि हामीलाई थाहा छैन । नियोजित रुपमा यसका फाइदा होइन, भए-नभएका हानीमात्र हामीलाई पढाइएको छ । आजको दिनमा हाम्रा लागि यो सबैभन्दा ठूलो चूनौति भएको छ ।

भविष्य र अर्थतन्त्र
अमेरिकालेमात्रै सन् २०२३ मा गाँजाको वार्षिक व्यापार ५० अर्ब डलर पुर्‍याउने लक्ष्य लिएको छ । विश्वमा गाँजाको बजार हरेक वर्ष १८ प्रतिशतले बढिरहेको देखिन्छ । २०२७ सम्म गाँजाको बजार ८६ अर्ब डलरभन्दा धेरै हुने अनुुमान गरिएको छ ।

थाइल्याण्डमा वर्ष २०२१ लाई गाँजा वर्ष मनाइएको छ । यो वर्षभरी त्यहाँ गाँजाका विभिन्न परिकार सेवन गर्न पाइन्छ । संसारमा धेरै मुलुकमा गाँजाको व्यवसायिक खेति खुला गरिएको छ । अधिकांश विकसित अर्थतन्त्रमा बजारमा गाँजा किन्ने सहज व्यवस्था छ । तर हामी प्रतिबन्ध फुकाउन आलटाल गरिरहेका छौं ।

हाम्रो दोकान बन्द गरेर पश्चिमाले गाँजाको बजार विस्तार गर्न थालेका छन् । अहिले पनि अमेरिका, क्यानडामा कतिपयले ‘हिमालयन गाँजा’ र ‘नेपाली गाँजा’को नाममा ब्यापार गरिरहेका छन् । नेपाललाई विश्वले जनस्तरमा चिन्नुको मूख्य कारण गाँजा हो । यहाँ पर्वतीय पर्यटनको विकास भएको निकै पछि हो ।

५०-६० वर्षअघि संसारभरबाट नेपालमा हिमाल हेर्न भनेर मान्छे आउँदैन थिए । उनीहरु गाँजा खान र आनन्द प्राप्त गर्न यहाँ आउँथे । उनीहरुले नै नेपालमा उच्च गुणस्तरको गाँजा पाइन्छ भन्ने प्रचार गरे । नेपालको अन्तरराष्ट्रिय परिचय यही घटनाबाट विस्तार भएको हो । नेपाली गाँजा बजारमा निहित भएर बलिउडमा ‘हरेराम हरेकृष्ण’ भन्ने फिल्म नै बनाइएको छ । यसले हिन्दु संस्कृतिको विस्तारमा पनि सघाउ पुगेको थियो ।

अब संसारमा रक्सिको बजार ध्वस्त हुने जोखिम बढेको छ । रक्सिले सामाजिक विकृति निम्त्याएको मात्रै छैन, मानव स्वास्थ्यलाई अनेकौं ढंगले हानी पुर्‍याएको छ । तर, गाँजाले पाचन प्रणाली, स्नायु प्रणाली, दुखाइजस्ता शारीरिक पीडा र चिन्ता एवम् मनोवैज्ञानिक समस्याको एकसाथ उपचार हुन्छ । गाँजाले स्नायु तन्तुलाई बढी सक्रीय पार्ने र सम्वेदना (इमोशन)र्लाइ उत्कर्षमा पुर्‍याउने काम गर्छ । ध्यान, योग र तपस्या गर्नेहरुले गाँजा सेवन गर्नुको कारण यही हो । यसले मान्छेको दिमागलाई उच्चस्तरको एकाग्रता प्राप्त गर्न सघाउँछ । यसबाट तर्कशक्ति, शीघ्र सिकाइ र कार्यक्षत्रमा अधिकतम उत्पादकत्व पाउन सघाउँछ ।

जनस्वास्थयमात्रै होइन, ग्रामीण अर्थतन्त्रलाई छोटो समयमै ह्वात्तै उकास्न पनि गाँजा सहयोगी हुनसक्छ । हामीले गाँजा खेतिको बैधानिकता र यसको निर्यात खुला गर्ने हो भने केही वर्षमै लाखौं गरिब नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउन सकिन्छ । यसले आन्तरिक बजारमा अरु थुप्रै बहुआयामिक आर्थिक अवसरहरुको सृजना हुन्छ । अर्थतन्त्रको पुरै पुनरसंरचना हुनसक्छ ।

बैधानिकता र अपराध
पहिले नेपालमा गाँजा ऐन बनाएर बजारलाई व्यवस्थित गरिएको थियो । अब त्यही ऐनलाई पुनः सक्रीय बनाइदिए पनि हुन्छ । अहिले संसदमा विचाराधिन विधेयकलाई कार्यान्वयनमा ल्याए पनि हुन्छ । यद्यपि, त्यसमा अझै उदार नीतिहरु लिनु आवस्यक देखिन्छ । गाँजाको बैधानिकतालाई अपराधको ग्राफसँग बढ्तै जोडेर बहस छेडिन्छ ।

कसैले अबैंध काम गर्‍यो भने के गर्ने भन्ने प्रश्न उठाइन्छ । तर सोचनीय कुरा के हो भने, यो दुनियामा यति धेरै झगडा, टण्टा, लडाइँ किन भएको होला ? पक्कै पनि आनन्द र खुसीकै लागि । तपाइँले गाँजा खानुभयो भने त्यो दुबै चिज यथास्थितिमा पाउनुहुन्छ । गाँजाले मान्छेमा झगडाको मनस्थिति जागृत हुनै दिँदैन । मान्छेहरु झगडा गर्न छाडे भने आधाआधि अपराध त यत्तिकै घटिहाल्छ ।

सन् १९६०-७० को दशकमा नेपालमा अपराधिक घटना खासै हुन्न थियो । अहिले हाम्रो समाज अत्यधिक अपराधिकरण भएको छ । बाहिरैको उदाहरण लिने हो भने पनि अमेरिकाको क्यालिफोर्नियामा गाँजा छुट गरेपछि अपराधका घटना ह्वात्तै घटेको पाइन्छ । क्यानडाका १८ वर्षमाथिका जो कोहीले बजारबाट गाँजा किन्न पाउँछ । त्यहाँ अपराधका घटना नगन्य छ । केही गरी छिटफुट अपराध भए भने पनि त्यसलाई न्याय निरुपण गर्नुपर्छ ।

हाम्रो समाजमा अहिले पनि अनेकौं अपराधिक गतिविधी भइ नै रहेको छ । भ्रष्टाचार, तस्करी, चोरी, हत्या, बलात्कारलाई हामीले कसरी नियन्त्रण गरिरहेका छौं, गाँजाबाट हुने सम्भावित अपराधलाई पनि त्यसरी नै नियन्त्रण गर्नु पर्छ । उदाहरणका लागि पाँचतारे होटेलमा क्यासिनो खोलेर जुवा खेल्न दिइन्छ ।

गाँजा खान पनि त्यस्तै व्यवस्था गर्न सकिन्छ । विदेशीलाई मात्रै वा निश्चित उमेर, स्वास्थ्य र आय समूहका मान्छेका लागि मात्रै खुला गर्न पनि सकिन्छ । तर अबैध काम हुनसक्छ भनेर यति ठूलो अर्थतन्त्रलाई बन्द गरिराख्नु राज्यका व्यवस्थापकको कमजोरी हो । समाजलाई नियमन गर्नै सक्दैन भने त्यस्तो सरकारको के औचित्य ?

२०७७ चैत्र १६, सोमबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।